मञ्जरी बोटका नाना मेरा शैशव काल हुन्
पुतली नाचका जस्तै मेरा खेल अनेक छन्
लहरो साथ खोजेर हाँगालाई समाउँछ
अँगालो उनको मेरो प्रीतको याद आउँछ ।१।
हराउँछ कहाँ मेरो वैसालु वय कोमल !
लालीगुराँस भै फुल्छ , खुल्छ यो स्वर कोकिल
दुबो पलाएको हेर्दै वरमाला छु सम्झिँदै
नसाको चालमा ब्यूँझी भित्रभित्रै छु रङ्गिँदै ।२।
पैह्रेको हिमको टोपी भाल हिमाल देखिँदा
ठान्दै छु रूप हो आफ्नै ऐनाको सामुमा हुँदा
ओढेर पालुवा घुम्टो नौली साँझ उदाउँदा
स्वर्ग अर्को कहाँ खोज्ने फूल तन्ना सजाउँदा ! ३ ।
पत्र- पत्र सयौँ पत्र पुष्प अन्तरमा छिरी
भमरा रसमा डुब्दा म चुम्छु जगका धुरी
हेर्न पुग्दा उता आँखा जोडी कपोतका कला
लुक्छ मेरो कहाँ भाव ? सुक्छ मेरो कहाँ गला ? ४।
पिँजडाका सुगा मैना गोपी कृष्ण ! पुकार्दछन्
मुक्त ढुक्कुरका जोडी लोक लज्जा लतार्दछन्
कादम्बिनी कडा तातो रातो घाम पचाउँछे
बोकी आकाशको भार धर्ती सृष्टि बचाउँछे ।५।
——————————-
गोरखा, लप्सीबोट ; हाल : काठमाडौँ- ६, सरस्वतीनगर ।