अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 18:21

मनको धरातल

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०८० भदौ २१ गते २२:५४ मा प्रकाशित

मन-
ग्रीष्ममा चरक्क चर्किएर धाँजा फाट्ने
वर्षामा हिलै हिलाले ढाकिने
अनि शरद् र वसन्तमा एकाएक
गम्किने/ चम्किने
धर्तीजस्तै हुने रहेछ !

मन-
बादल बादलले गुम्सिने
बादल बादलले बर्सिने
खुल्दा घाम टल्किने
आँधी हुरीको निवास
इन्द्रधनुषको बास
आकाशजस्तै हुने रहेछ !

मन-
ढल र भल पनि बोकिरहने
झरनाहरूलाई पनि डाकिरहने
चट्टानहरूसित पनि जुधिरहने
सागर भेट्न हतार
सगर उड्न हतार
हिमाल चढ्न हतार
गतिशील नदीजस्तै हुने रहेछ !

मन –
दुखिरहने
घोचिरहने
जर्जर काँडाजस्तै हुने रहेछ !

मन –
परिवर्तित शृङ्खलामा
मुस्कान कति मीठो छ !
सत्यमा कति सुन्दर छ !

मन-
स्वतन्त्रताको सिङ्गो संसार
फूलजस्तै हुने रहेछ
चराजस्तै उड्दो रहेछ
पुतलीजस्तै नाच्दो रहेछ !

मन-
यसलाई कतै छैन- दूर
यसका प्वाँखहरू जहाँ पनि
पुग्छन् क्षणभरमै सहजै
मनले मन बुझेपछि
मनले मन खोजेपछि
कोही छैन टाढा
कल्पनाकाशमा मान्छेका पखेटाहरू
उडिरहन्छन् !!

गोरखा, लप्सीबोट; हाल: काठमाडौँ- ६, सरस्वतीनगर ।