ऊ कर्मचारी –
भूतपूर्व !
अवकाशको जीवन
उसलाई भारी भएको छ !
जागिरमा रहँदा
निकै मान हुन्थ्यो
निकै शान हुन्थ्यो
हाकिमी रवाफ कम थिएन !
ठूलाहरूका सामु
घुँडा टेकेर दण्डवत्
गरे पनि
सानाहरू उससित थर्कमान थिए
भूतपूर्व बनेपछि
भूत सम्झिएर /अतीत कल्पिएर
सपना वा बिपना छुट्याउन नसकी
मनमा नाना ताना बोकेर
ऊ टोलाइरहेको छ ।
जागिरमा जति नै गिर्न परे पनि
टेबुलमाथिबाट
टेबुलमुनिबाट
रकमको बिटा मिल्थ्यो
भूतपूर्व बनेपछि
सुके सारा स्रोतहरू !
ऊ पदमा रहँदा
देश स्वर्ग थियो
किनकि
ऊ स्वर्गीय सुखमा थियो !
आज ऊ
देश नर्क बनेको देख्छ
किनकि
ऊ पदमा छैन
मानसिक यातनामा छ
पदमा अरूलाई देख्दा
उसलाई जलन हुन्छ
उसलाई ईर्ष्या हुन्छ !
उसभन्दा अर्को नर्क
सायद कतै छैन कि !
देश विदेशको भ्रमण छैन
करको तर थियो / दर थियो
दाइँ थियो / रजाइँ
आज त्यो छैन
भेटघाटमा मान्छेहरूको लाम लाग्थ्यो
आफन्तहरूको आवतजावत पनि
बाक्लै हुन्थ्यो
भूतपूर्व भएपछि
ती सबै एकाएक किनारा लागे !!
दिन र मन सधैँ
एउटै हुँदैन भन्थे
हो रहेछ !!
ऊ यस्तै सोचले
चिन्ताग्रस्त छ !
अनि सान्त्वनामा
पिउँछ , पिइरहन्छ
निद्रा हराए पनि
सपना भने
ऊ देखिरहन्छ !
ऊ अहिले
कुकुरको गोठालामा
भर्ती भएको छ
ऊ
त्यसैसँग बोल्छ
त्यसैसँग खेल्छ
त्यसैसँग सुत्छ
त्यसैसँग उठ्छ
बिहान बेलुका डुल्दा पनि
त्यसैसँग डुल्छ !
सायद
त्यो सानो चित्त र लामो हातको
सत्यनिष्ठता र सत्कर्मप्रतिको घातको
कुनै दण्ड भोगिरहेको हो कि ? !
नत्र किन यति धेरै
उद्वेलित छ
भूतपूर्व – राष्ट्रसेवक !!
———-
गोरखा , लप्सीबोट; हाल: काठमाडौँ-६ , सरस्वतीनगर ।