अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 21:45

सम्पदा

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०८० साउन १४ गते १०:१७ मा प्रकाशित

हिमाल अग्ला हरिया वनेली
विशाल छाँगा ,सरिता सुसेली
मुनाल ,डाँफे , लतिका र भृङ्ग
गुराँस भर्छन् मनभित्र रङ्ग ।१।

छन् तालमा चम्चम दिव्य तारा
तरङ्ग लाग्छन् जलका सितारा
हाँसेर थुम्कासित फाँट ओर्ली
अगाध गर्छिन् ममता जुनेली ।२।

हेर्दै मजाका मृगका बथान
क्रीडा कला शावकको सिरान
यतै यतै कोकिल साथ दिन्छन्
कहाँ यहाँका दिल मुर्झिइन्छन् ? ३।

छन् लेक बेँसीसित मुक्त आँत
खुल्छन् गला हर्दम रात प्रात:
हाल्दा अँगालो तरुमा लताले
छ प्राण भेट्ने दिलका कलाले ।४।

कैलाश गौरी शिव उच्च धाम
आस्था यतै छन् जनका प्रणाम
छन् साधना तन्त्र र मन्त्र ध्यान
विज्ञानभन्दा परको छ ज्ञान ।५।

माटो छ यो उर्वर झुल्छ दाना
छ भोक मेट्ने सबको खजाना
हुँदैन क्यै रोग र प्यास बाँकी
बुटी यतै छन् जलको छ झाँकी ।६।

यी माल चिन्ने भर छैन चाल
सुतेर चुम्ला कसले हिमाल ?
सामर्थ्यले पूर्ण उठे जवानी
अभाव के ? भाव सधैँ बिहानी !! ७।
———–
गोरखा , लप्सीबोट; हाल : काठमाडौँ -६, सरस्वतीनगर ।