अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१८ | Colorodo: 00:33

दियालो

गोपीराम भण्डारी 'बटुवा' २०७९ चैत १८ गते ११:१४ मा प्रकाशित

लघुकथा:

घडीकोसुइले नौ को अङ्क छोइसकेको थियो । सन्ते छोरा स्कुल पुराएर जागिरमा जान हतारिएको थियो । सन्तेले छोरा खोज्यो तर छोरा भेटेन । एकातिर अफिस जाने हतारो अर्कोतिर छोरा हरायो भन्ने चटारो । ऊ छटपटिएर खलखली पसिना पसिना भयो। उसले श्रीमती र छोरीलाई बच्चा नहेरेकोमा हकार्‍यो। बच्चा खोज्दा नभेटेपछि थाकेर सबैजसो पुर्पुरोमा हात लगाएर बसेका थिए ।

निराश भई टोलाइरहेको समयमा बच्चाले उसको हजुरबुबाको चोरिऔला समातेर घरतिर डोराइरहेको थियो । वृद्धलाई पुरानो ठाउँमा फर्केर आउन मन नभए पनि बच्चाको बालहटका अगाडि वृद्धले घुँडा टेकेका थिए। बच्चा हजुरबुबासँगै घर तिरै आइरहेको देखेर सन्तेले छोरालाई हकार्दै भन्यो,“तिमी स्कुल जाने बेलामा कता हराएको ?आफूलाई अफिस जान ढिला भइसक्यो ।”

सन्तेले छोरातिर हेर्दै बाबुलाई भन्यो ,“बा तपाईँलाई बच्चाको स्कुल छ भन्ने हेक्का भएन र ? समयमै ल्याइदिनु पर्ने ?”उसले फतफताइँदै छोरालाई स्कुल ड्रेस लगाइदियो ।

सन्तेले स्कूलजाने छोराको हात समातेर डोराउँदै थियो । बच्चाले बाबुको हात फुत्काएर टोलाई रहेको हजुरबुबातिर दौडियो । उसले वृद्ध हजुरबुबालाई भन्यो- “हजुरबुबा म स्कुल जान्न ? वृद्धले नातिलाई मुसार्दै भने, “हैन बाबु स्कुल जानुपर्छ । ज्ञानी मान्छे बन्नुपर्छ । स्कुल त जान्न भन्नुहुन्न ? हाम्रा पालामा स्कुल थिएनन् हामी जान पाएनौँ । बाबाले जस्तै पढेर तिमी ज्ञानी हुनु पर्छ ?” वृद्धले फकाउँदै थिए बच्चाले प्याच्च भन्यो–“मेरा बाबालाई हजुरलाई जस्तै मैले घरदेखि टाढा राख्ने अनि मेरो छोराले मेरो बाबालाई भेट्दा खप्की खानुपर्ने शिक्षा चाहिएको छैन । मलाई पढ्न मन छैन । बरु म बाख्रा चराउन जान्छु । म त पढ्न जान्न ।”

बाजे नातिका संवाद सुनेको सन्ते झसङ्ग झस्कियो ।उसले भूल गरेको महसुस गर्याे। सन्तेको छोराले दियालो बनेर सन्तेको घैटाेमा दियो बाल्यो । सन्तेले भन्यो–“भइगो बाबा यसलाई छोडिदिनु यो तपाइसँगै खेलाेस ।”

वृद्धले भने– “हैन हैन स्कुल त जानै पर्छ । तिम्रो पनि पालो आउनु परेन र ?” पीडा मिश्रित रिसको कारक बनेको सन्ते आफैसँग लज्जित हुँदै बाबुको गोडा समातेर भन्यो–“बाबा मैले हजुरको औँलो समातेको बिर्सिएछु । मातापिताको अगाडि सन्तान सधैँ अनाडी हुन्छन् मैले मेरो बालापन मात्र बिर्सिन । म पनि बुढो हुनुपर्ने कुरा समेत बिर्सिएछु ।अब भुलेर पनि भुल हुने छैन।” सन्ते बाबुको अगाडि घुँडा टेक्यो र बाबुसँग माफी माग्यो । त्यति नै बेला सन्तेको छोराले सन्तेको पिठ्यूँमा चढेर भन्यो,”यो हो नि तरिका हट् हट् घोडा हट् ।” वृद्धका आँखामा हर्षका आँसु भरिएका थिए । सन्ते अबुङ्गे भएकोमा पश्चात्ताप गर्दै घोप्टिरहेको थियो ।