अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

सौभाग्य

गोपीराम भण्डारी 'बटुवा' २०८१ साउन २६ गते १२:१९ मा प्रकाशित

प्रमीलाको मेसेन्जरमा रमनको कल आयो । उनी बोल्न नपाउँदै उताबाट आवाज आयो-“म त नेपाल आइसकेँ। एयरपोर्टमा लिन आउने हैन त ?”

प्रमिलाले भाउ खाेज्दै भनिन्-“अह! म नआउने । तिम्रो आफन्तहरू आएका होलान् ! ” रमनले विश्वस्त पार्दै तुरुन्तै भन्यो-“होइन, होइन कोही आउँदैनन् । मैले घरमा तीन दिनपछि आउँछु भनेको छुँ। दुई दिन हामी सँगै बस्ने है !” रमनको प्रस्ताव अस्वीकार गर्दै प्रमिलाले भनिन्-“भोलि बेलुका मेरो बुढो पनि युएइ बाट आउँदछन्। आज मात्रै बस्ने भए आउँछु।”
प्रमीलाको जवाफले थोरै खिन्न, थोरै प्रफुल्ल रमनले स्वीकृति जनाउँदै भन्यो-” ठिकै छ ,आऊ न त ।”

तीन वर्षअघि सुरु भएको अनुहार पुस्तिका मित्रताका मित्रहरू साक्षात् भेट्न आतुर थिए। एयरपोटगेटकाे भलाकुसारी पश्चात् रमनले नगरकोट जाने प्रस्ताव गर्याे । प्रमिलाले भनिन्-“नजिक त नबस्ने ,बरु सुकुटे बिचतिर जाऊँ न।”

प्रमीलाको प्रस्तावमा दुवै जना सहमत भए । रमनले भाडामा बुलेट बाइकको जोहो गर्‍यो। बुलेट बाइकमा दुवै जना सुकुटेका लागि प्रस्थान प्रस्थान गरे।
हरेक सडकमा राखिएका प्रहरी चेकिङ छल्दै उनीहरू नालाको बाटो हुँदै धुलिखेल पुगेका थिए । धुलिखेल नजिकको प्रहरीको चेकिङ छल्ने वैकल्पिक मार्ग थाहा नहुँदा रमणले चेकिङबाट भाग्न बाइक तीव्र गतिमा कुदायो। बाइक अनियन्त्रित भयो । दुवै जना सडक किनारको नालीमा उत्तानो परे।

प्रहरीले घाइते दुबैलाई उद्धार गरी अस्पताल पठायो। भाग्यले उनीहरूलाई गम्भीर चोट लागेन । प्राथमिक उपचारपछि अस्पतालले उनीहरूको नालीबेली माग्यो। डिस्चार्ज हुने बेलामा प्रमिलाले दुवै हात जोडेर माफी माग्दै सार्वजनिक नगरिदिन बिन्ती गरिन् ।

रमनले प्रमिलालाई ट्याक्सीमा जाऊँ भनी अनुरोध गर्‍यो । प्रमिलाले रमनको गालामा जोडले थप्पड हान्दै भनिन् -“गलत बाटोको हिँडाइले सिकाएको सबक सिकेनौ ? मेरो आँखा खुल्यो। मैले आफ्नो श्रीमान् बिर्सँदा र तिमीले आफ्नो श्रीमती बिर्सँदाको उन्मत्तताले झन्डै मरिएन । दुर्भाग्यले तिमीसँग मित्रता गाँसियो । सौभाग्यले बेलगाम उन्मत्तता रोक्न प्रहरी खटिएका रहेछन्। भाग्यले हामी लड्यौँ । महाभाग्यले मेरो पतित्व र अस्तित्व सुरक्षित रह्यो। जीवनभर श्रीमानसँग आँखा जुधाउन सक्ने थिइन । जसले मेरो निम्ति रातदिन खाडीमा पसिना बगाएर फर्कँदै छन् उनैलाई ….!”

पश्चातापको रापमा जल्दै प्रमिलाआँखाभरि आँसु लिएर हतार हतार आफ्नै डेरामा जान मयुर बसमा चढिन् । रमनले आफ्नो गाला छाम्दै प्रमिलाका पाइला नियालिरह्याे ।

***********
सिन्धुपाल्चोक