अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२४ | Colorodo: 12:39

पाठ

नवराज न्यौपाने 'मौन' २०८१ मंसिर १० गते ९:४८ मा प्रकाशित

लघुकथा

मैले आफू विधुर भएको कसैलाई बताएको थिइन । तर मैले पढाउने कलेजकी एउटी छात्राले मेरो बारेमा सबैसँग सोधखोज गरेर मेरो बारेमा धेरै कुरा थाहा पाइछन् । त्यसपछि उनी मप्रति झनै आकर्षित हुन थालिन् । मप्रति हार्दिकता र सद्भाव प्रकट गर्दै गइन् ।

ट्युसन पढ्न नपर्ने मेधावी छात्रा भए पनि उनी ट्युसन पढ्ने बहानाले मेरो कोठामा आउन थालिन् । कोठा खाली भएपछि पछि त म बसेकै घरमा कोठा लिएर बस्न थालिन् ।

बिस्तारै उनले मेरो कोठा सफा गर्ने ,सामान मिलाउने ,खाना पकाउने आदि काम गर्दै गइन् । अर्थात् मलाई माया गर्न थालिन् । मलाई भने असहज लाग्न थालेको थियो । अनि, मैले पनि उनको बारेमा धेरै कुरा बुझ्ने प्रयास गरेँ । दुई जना गुन्डा स्वभावका मान्छेले प्रेमको नाटक रचेर उनलाई धोका दिएका रहेछन् ।

यत्तिकैमा मैले एक दिन उनलाई भनेँ – ‘ नानी !तिमी त मभन्दा १६ वर्ष सानी मान्छे । किन मसित यति साह्रो हुरुक्कै हुन्छ्यौ ? जीवनमा धेरै पाठ सिक्न बाँकी छ । मेरो के कुरा मन पर्‍यो र तिमीलाई?’

उनले भनिन् -‘मलाई हजुरको सोझोपन मन पर्छ । मलाई विगतले धेरै पाठ सिकाएर गएको छ । एउटा पाठ यो हो कि सिधासादा मान्छेहरू कहिल्यै धोका दिँदैनन् ,किनकि उनीहरू जालझेल गर्न र षड्यन्त्र बुन्न जान्दैनन् । ‘


मातातीर्थ , काठमाडौँ
२०८१।०८।०६