अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

भाग्यमानी

गोपीराम भण्डारी 'बटुवा' २०८१ चैत १४ गते १२:२६ मा प्रकाशित

दीक्षान्त समारोहमा भाग लिनु पूर्व नवीनले पितालाई भन्यो-“बाबा आज दीक्षान्त समारोहमा हजुर पनि सहभागी हुनुपर्छ।” रिक्सा सडकमा निकाल्दै छोराको अनुरोधलाई फिस्स हाँसेर टार्दै नरहरिले भन्यो- ” एक डिन काम गरिएन भने बेलुका चुलो बल्दैन । टेसैले म काममा जान्छ। टँ आफ्नो काम गर ।” मन खिन्न बनाई गएको नवीनले विश्वविद्यालय प्रथमको उपाधि प्राप्त गर्‍यो।

कार्यक्रमको उद्घोषकले नवीनलाई बधाई दिँदै सफलतामा सहयोगी हात र सफलताको राज सहितको मन्तव्य दिन अनुरोध गरे । नवीनले प्रमुख अतिथिलाई सम्बोधन गर्दै भन्यो -“मेरो सफलतामा मेरा गुरुहरूको जति हात छ त्यो भन्दा हजारौँ गुणा मेरा पिताको शिक्षा, योगदान र मेहनत छ । उहाँले क्षणिक खुसी लत्त्याउँदै निरन्तर रिक्सा ठेली रहनुभयो । फलस्वरूप आज म यहाँ छुँ।” यति भनेर नवीन भक्कानियो।

उसको कुरा सुनेर स्टेजमा बसेकाहरू मुखामुख गरे ! चौरमा सहभागीहरू खास खुस गरे। लुकेर छोरालाई पछाडिबाट नियालिरहेको नरहरिको छाती गर्वले ढक्क फुल्यो । नरहरिका आँखा खुसीले भरिए । आँखामा छचल्किएका आँसु पुछेर रिक्सातर्फ लम्कँदै गरेको नरहरिलाई नवीनका दुई जना साथीले चिने र जुरुक्क उचालेर स्टेजमा लगिदिए । नवीनले शिर निहुराएर पिताका पाउ स्पर्श गर्दै भन्यो-“म अघिसम्म प्रथम मात्र थिए तर अव संसारकै भाग्यमानी व्यक्ति पनि हुँ किनकि मेरो बुवाको छाया मेरो शिरमा छ ।”

उपस्थित सबैले ताली बजाए । आयोजकले नरहरिलाई दुई शब्द बोलिदिन अनुरोध गरे। नरहरिले खुसीको आँसु पुछेर कापिरहेको स्वरमा भन्यो-“सफलता खोजेर भेटिने वस्तु होइन त्यो ट आशाहीन निरन्टरकाे कर्मबाट प्राप्त हुन्छ । भाग्यमानीको भाग्य उसको कर्मले डेखान्च ।” उसले हातको माइक रोस्टममा राखेर छोरोको पिठ्युँमा प्रेमिल थप्पड हान्दै अँगालो हाल्यो ।

टोखा-३, काठमाडौँ