अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 01:20

विलय

युवराज मैनाली २०८१ चैत २९ गते १३:४६ मा प्रकाशित

शून्यको किनारबाट एउटा प्रतिध्वनि उठ्यो। त्यहाँ समयको कुनै स्वरूप थिएन, केवल एउटा लय थियो—अनागत र अतीतको विचित्र संगम। अनगिन्ती स्वरहरू त्यस लयमा विलीन भइरहे।

एक छायाँ अघि बढ्यो, अस्पष्ट आकृतिबाट आफ्नै पहिचान निर्माण गर्दै। उसको स्वर भिन्न थियो—गहिरो, सम्मोहक। उसले अनुनाद सिर्जना गर्‍यो, जसले मौनतालाई समेत गति दियो। उसको उपस्थितिले बाटाहरू निर्देशित गरे, दृश्यहरू निर्माण भए, अनि अनुहारहरूमा अपरिचित उज्यालोपन देखिन थाल्यो।

समय बह्यो। स्वरहरू अब अलग भएनन्, ती उसकै लयमा बग्न थाले। केहीले नाच्ने अभ्यास गरे, केहीले लय समात्न नसकेर विलीन भए। अनि, त्यो स्वरको घेराभित्र, एउटा जिज्ञासु छायाँ अगाडि आयो। उसले प्रश्न गर्‍यो— “यो सबै के हो?”

स्वर स्थिर रह्यो। केही समय मौनताको सिहरन फैलियो। अनि, घेराका संरचनाहरू परावर्तन हुन थाले। छायाँको आकार संकुचित हुँदै गयो, अनि अन्ततः, त्यो विलीन भयो—जसरी अन्य अनगिन्ती स्वरहरू एकाकार भइसकेका थिए।

बाँकी सबै मौन रहे। लय भने निरन्तर बहिरह्यो।