अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 02:34

बर्दीको बरफी अनुशासन

युवराज मैनाली २०८१ फागुन २१ गते १३:३८ मा प्रकाशित

लघुकथा

देशको शान्ति सुरक्षाको धुरी, अपराध नियन्त्रणको खम्बा, प्रहरी महानिरीक्षक आफैमा अनुशासनका प्रतिमूर्ति थिए । भ्रष्टाचारप्रति उनको कठोर नीति थियो ः शून्य सहनशीलता ! एक रुपैयाँको अनियमितताले जागिर चट । सेवाग्राहीको चित्त दुखायो कि गयो । अपराधको खबर सुन्नेबित्तिकै पाँच मिनेटमा प्रहरी घटनास्थलमा ! उनका निर्भीक आदेशले मातहतका कर्मचारीहरूलाई त्रसित तुल्याउँथ्यो । कहिले जागिर गुम्ने हो, पत्तो थिएन । आदेशहरू “लाउड एण्ड क्लियर”, व्यावसायिकताको राग गज्जबको ! उनको नेतृत्वमा प्रहरी सेवा निष्कलङ्क होला भन्ने आशा पलाएको थियो ।
प्रहरीहरूले कुनै घटनाबारे जानकारी दिन खोज्दा सुन्ने फुर्सद हुँदैनथ्यो । अभिवादन फर्काउनेसमेत फुर्सद थिएन– सधैँ काममा तल्लीन ! तल्लो दर्जाको प्रहरीले “जय नेपाल सर” भन्दा कड्किएर भन्थे— “के कुरा हो ? छिटो भन ।” छोटो, आदेशात्मक बोली ! ठ्याक्कै फौजी अनुशासन । एकपल्ट आँट गरेर बढुवाको कुरा राखेँ । “बढुवामा होइन, काममा ध्यान दे,” कड्किँदै भने— “म तेरो फाइल हेर्छु । बेला भए अन्याय हुँदैन, तर नेताको फोन गराइस् भने हुने बढुवा पनि रोकिन्छ ।” मख्ख परेँ, बढुवा पक्का भो भन्ने ठानेँ । रातको ११ बजेर २९ मिनेटमा बढुवाको म्यासेज आयो । बढुवाको लिस्टमा मेरो नाम थिएन, जुनियरहरूको थियो ।

भोलिपल्ट बिहानै प्रश्नसहित महानिरीक्षकको निवासमा पुगेँ । प्रतीक्षागृहमा पचास साठी जना प्रहरी पालो कुरेर बसेका थिए । मलाई धैर्य भएन । सुरक्षाकर्मीको कुरा नसुनी भित्र पसेँ । मलाई देखेर महानिरीक्षकको सातो गयो, अनुहार कालो भयो, अनुहारमा पसिना छुट्यो । सबै दृश्य देखेर म पनि छाँगाबाट खसेँ । मैले एकपल्ट एउटा गाउँपालिका नेतालाई धुलाई गरेर २५ दिन हिरासतमा राखेको थिएँ । त्यही नेता आज महानिरीक्षकसँग सोफामा बसेर कफी पिउँदै थियो, हिजोको बढुवाको गुनगान गाउँदै थियो, अनि गह्रुङ्गो ब्रिफकेस भेट गर्दै थियो । त्यो ब्रिफकेसको वजनले नै बताउँथ्यो, बरफी अनुशासनको मूल्य कति रहेछ ।