अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 04:21

मतियार

नवराज न्यौपाने 'मौन' २०८१ कार्तिक ७ गते १३:०३ मा प्रकाशित

लघुकथा

‘विनीता ! आज हाम्रो घरमा खाना पकाएको छ । सँगै खाने ,बस्ने पढ्ने हो । हिँड हाम्रो घरमा जाम् ।’
रोशनीले बिनिताको घरमा गएर भनिन् । साँझमा दुवै जना रोशनीको घरमा पुगेर खाना खाए ।
झमक्क साँझ परेपछि रोशनीले आमासँग भनिन् – ‘आमा !हामी बिनिताको घरमा बस्न जान्छौँ है ! हिँड विनीता तिम्रो घरमा गएर पढम् । ‘
‘विनीता अचम्म मान्दै ‘ल जाम् त जाम् ‘भन्दै पछिपछि लागिन् ।

बाटोमा दुई जना केटा पर्खेर बसेका रहेछन् । उनीहरूले दिउसो रोशनीलाई भेटेर सबै योजना तयार परेका थिए ।

त्यसपछि उनीहरू खोरियाको पधेरोमाथिको बारीमा बसेर रात बिताए । विनीतालाई भगाएर लैजान पल्लो गाउँको सुनिल नाम गरेको केटोले एक जना अर्जुन नाम गरेको साथी लिएर आएको थियो र रोशनीलाई पाँच हजार रुपैयाँ दिएर मतियार बन्न अनुरोध गरेको थियो ।

सुनिलले विनीतालाई बारीको एक कुनामा बसेर बिहे गर्न राजी तुल्याउन अनेक प्रयास गरिरहेको थियो भने अर्को कुनामा रोशनी र अर्जुन टाइम पास गफ गरेर बसे ।

झिसमिसे उज्यालो भएपछि विनीतालाई लिएर सुनिल र अर्जुन पल्लो गाउँतिर लागे भने रोशनी घरमा गएर टाउको दुख्यो भनेर तलामा गएर सुतिन् ।

बिहान अबेरसम्म छोरी नआएपछि बिनिताकी आमा रोशनीको घरमा आइन् । ‘राती नै तपाईँको घरमा गएका हुन् नि!’ भनेर रोशनीकी आमाले भनेपछि उनले रोशनीलाई मरणासन्न हुने गरी कुटेर घर फर्किन् ।

सारा गाउँभरि हल्ला फिँजियो – हिजो रातभरि विनीता र सुनिल अनि अर्जुन र रोशनी बारीको कान्लामुनि बसे रे । सुनिलले त विनीतालाई सिन्दूर हालेर बिहे गरिसक्यो रे । अर्जुन र रोशनी त फुक्काफाल हिँडिरहेका छन् । ‘

त्यसपछि रोशनी दसैँसम्म घरबाट कतै निस्किन सकिनन् । बिरामी पर्दै गइन् । शारीरिक रूपमा कमजोर र मानसिक रूपमा विक्षिप्त हुँदै गइन् ।

दसैँमा टीका लगाउन आएको सुनिलले उनलाई भेटेर थप पाँच हजार रुपैयाँ दियो । रोशनीले रुँदै भनिन् -‘दाइ ,तपाईँको योजनाको मतियार बन्दा मेरो इज्जत र खुसी सबै माटोमा मिल्यो । अब यो पैसाले मैले औषधी मात्र किन्न सक्छु तर गुमेका कुरा फिर्ता पाउन सक्दिन । ‘