भारत । भारतको महाराष्ट्रमा रेल दुर्घटनामा ज्यान गुमाएका नेपाली यात्रुहरूको परिवारलाई भारतीय पक्षले तत्कालका लागि ५० हजार भारतीय रुपियाँ सहयोग उपलब्ध गराएको मृतकको सनाखत गरेका एक व्यक्तिले बीबीसीलाई बताएका छन्।
जलगाउँ जिल्लामा बुधवार भएको रेल दुर्घटनामा ज्यान गुमाउनेहरूमा नेपालका सात जनामध्ये बाँके नरैनापुरका ४० वर्षीय लछिराम खन्नु पासी पनि थिए।
रेलभित्र आगो लागेको हल्ला फैलिएपछि हामफाल्ने क्रममा अर्को रेलमा ठोक्किएर ज्यान गुमाएका १३ जनाको ज्यान गएको बताइएको छ।
मृतक सातैजनाको सनाखत भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
ज्यान गुमाउने लछिराम को हुन्?
लछिरामको शव पहिचान गरेका त्यही गाउँका रामरङ पासी मजदुरीका लागि मुम्बई हिँडेका लछिरामको शव नेपाल ल्याउने तयारीमा आफूहरू रहेको बताउँछन्।
जलगाउँ क्षेत्रमा नै काम गर्दै आएका रामरङ पासीले आफू रेलमा सवार नभएको भएपनि त्यसमा सवार रहेका आफ्ना ‘साथीहरूबाट घटना विवरण’ सुनेको बताए।
नेपाली प्रस्टसँग बोल्न नआउने बताएका उनी आफू जलगाउँ क्षेत्रमा नै रेस्टुराँमा खाना पकाउने काम गर्दै आएको बताउँछन्।
बाँके नरैनापुर घर भएका रामरङले जलगाउँ जिल्लामा मृतकहरूको शव राखिएको अस्पताल नजिकैबाट बीबीसीसँग टेलिफोनमा भने, “लछिरामको घर पनि नरैनापुर वार्ड नम्बर एक हो। उहाँको भतिज मेरो साथी हो। उहाँको शव लिएर हामी नेपाल लिएर जाँदै छौँ।”
उनले भने, “दुर्घटना भएको रेलको नाम पुष्पक एक्स्पेस हो। त्यहाँ आगलागी भएको अफवाह फैलियो। यात्रुहरूमा आतङ्क मच्चियो। सबै यात्रुहरूले रेल रोक्नका लागि चेन तानिदिएछन्।”
त्यसपछि केही अगाडि गएर रेल रोकिएको जनाउँदै सबै यात्रुहरू भित्रबाट बाहिर निस्कन थालेको र अर्को दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेस रेलले उनीहरूलाई ठक्कर दिएको उनको भनाई छ।
उनले आफू दुर्घटनास्थल भन्दा ४० किलोमिटर पर रहेको भएपनि दुर्घटना भएपछि आफन्तहरू अस्पताल पुगेका र आफूसँग सम्पर्क गरेको उनले सुनाए। बिबिसी नेपाली