अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

नेपालको आन्दोलनमा २ जनाको ज्यान गयो

नेपाल मदर डट कम २०८१ चैत १४ गते १२:५७ मा प्रकाशित

काठमाडौं । आन्दोलन शुरु भएकै पहिलो दिन काठमाडौंमा दुई जनाको मृत्यु भैसकेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ तिनकुने क्षेत्रमा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए । ‘४:३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो । घाँटीमा गोली लागेको रहेछ,’ आचार्यले भने ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जका प्राडा मोहनचन्द्र रेग्मीका अनुसार गोली लागेका ५ जना घाइतेको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनले ती सबैको कम्मर मुनिको भागमा गोली लागेको र अवस्था स्थिर रहेको बताए । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक बद्री रिजालका अनुसार त्यहाँ पनि गोली लागेका दुई जना घाइतेको उपचार भइरहेको छ । तीमध्ये पेटमा गोली लागेका एक जनाको अवस्था भने चिन्ताजनक रहेको छ । उनको आकस्मिक शल्यक्रिया भइरहेको निर्देशक रिजालले बताए । ट्रमा रहेका अर्का एक जनाको भने कुममा उपचार गोली लागेको छ ।

तीनकुनेमा जलाइएको घरमा मृत भेटिएका व्यक्ति एभिन्यूजका क्यामेरा पर्सन भएको पुष्टि
तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए । एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए ।

आन्दोलनकारीहरुले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको निवासमा ढुङ्गामुढा गरेका छन् । अध्यक्ष नेपालको कोटेश्वरमा रहेको घरमा आन्दोलनबारीले ढुंगामुढा गरेका हुन् ।

आजको प्रदर्शनमा प्रहरीसहित दर्जनौं घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको अहिलेसम्मको विवरणअनुसार घाइते हुनेहरूको संख्या २२ पुगेको छ जसमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवैतर्फका घाइते भएका छन् । तर आन्दोलनकारीहरु भन्छन – घाइते हुने हरुको संख्या सयौं छ र राज्यले निकै दमन गरेको थियो आज। प्रदर्शनमा काठमाडौं गुहेश्वरका ४३ वर्षीय राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कडेल, शंकर तिवारी, निखिल कार्की, कुमार जंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा घाइते भएका छन् । त्यसैगरी सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार चन्द्र बुढा पनि घाइते भएका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि तोडफोड र आगजनी भएको थियो । सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो ।

एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । प्रहरी भन्छ – तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् । प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका थिए । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरेको छ ।  नेपाल मदरबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू