अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 15:45

कोरियामा नेपाली युवकको ‘आत्महत्या’ पछि बाँकीले पनि कम्पनी छोड्दै

बीबीसी न्यूज नेपाली २०८१ फागुन १५ गते ११:३८ मा प्रकाशित

दक्षिण कोरिया । दक्षिण कोरियास्थित एउटा बङ्गुर फार्ममा कार्यरत एक नेपाली युवकले “आत्महत्या” गरेको भनिएको घटनापछि विदेशमा रहेका नेपालका श्रमिकहरूको सुरक्षाबारे एक पटक फेरि चिन्ता एवं चासो व्यक्त भइरहेको छ ।

त्यहाँ कार्यरत बाँकी नेपाली कामदारले सो घटनापछि काम गर्न नचाहेको बताएपछि सोलस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई अन्यत्र जान दिन रोजगारदाता कम्पनी सहमत भएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

“एकैचोटि सबै कामदारले छोड्दा बङ्गुर फार्म नै समस्यामा पर्ने भन्दै त्यसका साहु चरणबद्ध रूपमा नेपालीहरूलाई कम्पनी छोड्न दिन सहमत भएका हुन्,” राजदूत शिवमाया तुम्बाहाम्फेले बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भनिन्।

सहमतिबमोजिम दुई साताभित्र नेपाली कामदारहरूले उक्त कम्पनी छोडिसक्ने दूतावासले जनाएको छ। नेपाली श्रमिकहरूका लागि दक्षिण कोरिया एउटा आकर्षक गन्तव्य मुलुकका रूपमा रहिआएको छ। दक्षिण कोरियाको छल्लानाम्दो मोक्पोस्थित ‘वूसङ्ग पिग फार्म’ मा कार्यरत युवकको मृत्युको घटनापछि तीनजना त्यहाँबाट ‘रिलीज लेटर’ लिएर निस्किसकेका राजदूत तुम्बाहाम्फेले बताइन्।

“तीनजना बहिनीसहित अब १५ जना भाइहरू हुनुहुन्छ। पालोपालो उहाँहरू त्यहाँबाट निस्कनुहुन्छ,” उनले थपिन्। गनी अन्सारीले बीबीसी न्यूज नेपालीमा लेखेका छन ।

सम्बन्धित सामग्रीहरू