अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

गजल

नवराज न्याैपाने 'माैन' २०८१ जेठ १३ गते १५:०५ मा प्रकाशित

सुरम्य धर्ती छँटा हजाराैं कला खुलेकाे छ देश मेरो
हिमाल राम्राे पहाड हाम्राे सदा उठेको छ देश मेरो

बहन्छ हावा सुगन्ध बाेकी र धान झुल्ने अहा तराई
अनन्त गङ्गा अपार खानी शिला कुँदेको छ देश मेरो

गुराँस फुल्दा हिमाल हाँस्दा सुदृष्टि हाम्राे उतै परेका
बगे हिमानी सलल्ल दक्षिण त्यतै जुटेकाे छ देश मेरो

थिए नि पूर्खा सधैं इमानी र वीरताका कथा भुलिन्न
हजार यात्री रमेर आए खुशी बनेकाे छ देश मेरो

फुलेन आशा मिलेन जागिर भनेर सारा युवा हराए
र खेतबारी सधैं छ बाँझाे थला परेकाे छ देश मेरो

(बहर:जमील मुसम्मन सालिम)

प्रतिक्रिया