अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

प्रतियोगिता कविता

लालगोपाल सुवेदी २०८१ असोज २७ गते १०:०४ मा प्रकाशित

भलिबल प्रतियोगिता हुन्थ्यो उतिबेला
हामी बसमा झुण्डिएरै पनि
भलिबल हेर्न जान्थ्यौं
फुटबल प्रतियोगिता हुन्थ्यो उतिबेला

हामी बसको छटमा अटाई नअटाई
फुटबलको दर्शक बन्थ्यौ
हाजिरीजवाफ प्रतियोगिता हुन्थ्यो
कविता प्रतियोगिता हुन्थ्यो

गीत प्रतियोगिता हुन्थ्यो
फराकिलो भएछ अहिले
प्रतियोगिताको दायरा
गाली प्रतियोगिता पनि हुन थालेछ

श्राप प्रितियोगिता पनि हुन थालेछ
ज्योतिको बिस्तारका लागि
माटाको पालामा बत्ती बाल्थ्यौं हामी
आज त कसैले खरबारी नै बालेछ

आज त डढेलो प्रतियोगिता पनि हुन थालेछ
प्रतियोगिता हुने थाले कति कति
उँधो मति हो कि उँभो मति
यहाँ शुभकामना प्रतियोगिता हुन्छ

श्रद्धान्जली प्रतियोगिता हुन्छ
समवेदना प्रतियोगिता हुन्छ
पुग्छ अचेल दुई शब्द लेखिदिए
जन्ती जानु पनि पर्दैन

मलामी जानु पनि पर्दैन
बजारबाट पुष्पगुच्छा किनिरहनु पर्दैन
चिट्ठा प्रतियोगिता
दान प्रतियोगिता

गो फण्ड, सो फण्ड
कमाउ धन्दा अनेक छन्
लाटाहरू हेरेको हेर्यै छन्
बाठाका दाउ धेरै छन् ।

 

*****

बोस्टन, अमेरिका ।

प्रतिक्रिया