अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 13:22

भ्यागुताको धार्नी

लालगोपाल सुवेदी २०८१ भदौ १८ गते १५:०९ मा प्रकाशित

(कविता)

कति कमजोर
सम्बन्धको स-सानो धागो
सम्बन्ध-यात्रामा कोही
साल सिसौको जठराग्नि
कोही परालको आगो
जीवन-यात्रीको लागि
कतै घोडेटो
कतै गोरेटो र तगारो
जसलाई पनि
टाकुरामै पुग्ने हतारो
तर आज भएको छ
जसको पनि भावना बुझ्नै गाह्रो
कोही कतै आँखाको नानी
कोही कतै आँखाकै छारो
कहिले यसले जित्ने
उसले हार्ने
कहिले उसले जित्ने
यसले हार्ने
हो नि
कहिले श्रीमतीले जित्ने
श्रीमानले हार्ने
कहिले श्रीमानले जित्ने
श्रीमतीले हार्ने
तर बुन्न चाहन्छु म
सम्बन्धको स्वेटर
तर अदृश्य कीराहरूले
भित्रभित्रै उधार्ने
लक्ष्य थियो
सबैलाई खुसी पार्नी
तर आफैलाई थाहा छैन
बिसौली हुँ कि धार्नी
कस्तो अनोठौ लाजनीति
स्वप्न हो कि दुस्वप्नको तराजु
एउटाले त्यो भ्यागुतो उफार्ने
अर्कोले त्यो भ्यागुतो उफार्ने
जित्नै चाहने जसले पनि
कोही नहार्ने
विलखबन्द छु
मेरो सपना
दुई पाउ हो कि
तीन पाउ को कि धार्नी ?
कोही लामखुट्टेको साँप्रो चिमोट्ने
कोही उपियाँको कान निमोठ्ने
यसको सम्मान गर्दा
त्यो रुने
उसको भलो गर्दा
अर्को बेहोस हुने
भन्नुस् त
म हाँस्ने कि रुने ?
गर्छु जोड घटाउ
भाग लगाउँछु
गुणन गर्छु
रचिसकेको हुन्छ
उता कसैले छक्का दाउ
कसैले एक्का पछार्ने
कसैले बास्सा पछार्ने
कपाल फुल्यो !
दाँतहरू झरे !
अनेकलाई खुसी पार्दा पार्दै ,
तर आफूलाई भने कहिले खुसी पार्ने ?

**********
बोस्टन, अमेरिका ।

प्रतिक्रिया