अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०४ | Colorodo: 13:19

बोल ममता

स्पन्दन विनोद २०८१ भदौ २१ गते २१:१६ मा प्रकाशित

साथै बस्छ र गर्छ नाटक सयौँ, माया गरेझैँ गरी
खोजी गर्छ बिहे हुने गुगलमा, मर्दा उही श्रीमती
राख्यो बाहिर प्रेमिका र घरमा, हिंसा थप्यो बर्बर
के होला यसको जवाफ ममता, आऊ बताऊ अब !१

आफ्नो मानिस लोभ लालच गरे, सम्झाउने गर्दथिन्
सोझी कर्मठ गाउँले गरी बिहे, ल्यायो खुसी नै थिइन्
घाँडो थ्यो त बिहे समाज पर त्यो, च्याते हुने कागज
के होला यसको जवाफ ममता, आऊ बताऊ अब !२

आफ्नो दौलत या परिश्रम सरो, सारा कुरा सुम्पियौ
भन्थ्यौ ज्यान डराउँदै छ अहिले, यात्रा लडेरै गर्‍यौ
सुत्केरी पलमा समेत त्यसरी, खाना दिँदैनन् किन
के होला यसको जवाफ ममता, आऊ बताऊ अब !३

सासूले पतिले मिलेर जहिल्यै, पिट्दा सह्यौ आहत
पिट् बोलेर सु-याउने महलका, पापी अहो ! पालक
के बुझ्लान् ममता हरेक घरले, उन्मत्त छन् कौरव
के होला यसको जवाफ ममता, आऊ बताऊ अब !४

टोलाएर बसे निमा नजर ती, आमा कतै आउँछिन्
चिच्याए पनि को सुनोस् लवजमा,आमा भनी दिन्दिन
यो प्रारब्ध छ मृत्युको वरणको, भन्छन् भयौ गायब
के होला यसको जवाफ ममता, आऊ बताऊ अब !५

बन्छन् दानव दुष्ट सोच क्षणमै, गर्छन् कुरा होसमा
कस्तो मात चढ्यो अचानक भयो, निर्मुक्ति बेहोसमा
पायौ दौलत लाख के त सुनकै, निद्रा किन्यौ साहेब
के होला यसको जवाफ ममता, आऊ बताऊ अब !६

काया के छ र आज भोलि छ अहो, फर्केर जाने दिन
गर्छौ लोभ तथापि त्यो क्षणिक हो, मान्छे अधर्मी किन
देवी हुन् तर वंश नास नगरुन्, नारी बनुन् अब्बल
के होला यसको जवाफ ममता, आऊ बताऊ अब !७

नारी कारण हुन् छ जीवन भने, नारीबिना शून्य छ
आफैँ च्यातिन पुग्दछिन् जब उनी, सन्तान चिच्चाउँछ
के छन् विश्व चहार हेर जगमा, सत् वन्दना काबिल
के होला यसको जवाफ ममता, आऊ बताऊ अब॥८

पापीले प्रिय जिन्दगी हरिदियो, बेला थियो यौवन
लासै सम्म नि भेटिएन महिनौँ, व्यर्थै भयो जीवन
आँखामा नबिझाउने कमल हौ, आँखा गड्यो सायद
के होला यसको जवाफ ममता, आऊ बताऊ अब॥९

ती नाबालिग खोज्दी हुन् गहभरि, आमा कहाँ छौ भनी
टुक्रा पार्न सक्यो उनै सामु कसरी, बाबा नभुल्ने गरी
नारी कोमल फूल हुन् अबुझले, ङ्याक्यो र फाल्यो पर
के होला यसको जवाफ ममता, आऊ बताऊ अब॥१०

कविता
छन्द- शार्दूलविक्रीडित

रचनाकार- स्पन्दन विनोद
हाल- बेलायत