लघु कथा
आज स्कुलमा चित्रकला प्रतियोगिता हुँदैछ ।
भन्ने सुन्दा मेरो मन खुसीले उफ्रिरहेको थियो।
साथीहरू मलाई हेर्दै तेरो जस्तो चित्र कसैले बनाउन
सक्दैन भन्दै आफूहरू नजित्ने पक्का गर्दै म पट्टि फर्किरहेका थिए ।म पनि कम खुसी भएको थिइनँ ।
किनकि,मलाई चित्र कोर्न असाध्यै मन पर्छ।
एक पटक मिसले पढाई रहँदा उहाँको चित्र कोर्दै थिएँ।साथीले कुरा लगाइदिएर पिटाई पनि खाएँ ।
त्यो पिटाइले मलाई आजजस्तो धेरै दु:खेको थिएन ।
तर, आज पिटाई नखाँदा नै मन, शरीर
सबै दु:खेजस्तो भइरहेको छ।सबै चित्र बनाउन व्यस्त छन् ।मेरा भने आँसुले कपिका पाना भिजिरहेका छन्।सँगैको साथीले मेरो आँसु देखेर बोल्ने आँट सम्म गरेको छैन।एक्कासि समय सक्कियो ।मिसको आवाजसँगै म तर्सिएँ ।के जवाफ दिने ?मिस मेरै अघिल्तिर आउनुभयो।खै त तिमीले बनाएको चित्र
म बोल्न सकिन्न ।खै त चित्र ? अब बोल्नै पर्ने भयो ।
मिस!मैले मान्छे नै चिनेको छैन ।कसरी बनाऊँ।म जन्मने बित्तिकै उहाँ स्वर्ग जानुभएको रे ।खै,अझै आउनु भएको छैन ।म कसरी बनाऊँ।घरमा फ्रेम हालेर माला लगाएर राखिको तस्बिरलाई सबैले तेरो आमा यही हो भन्छन् ।तर,त्यो तस्बिरले छोरी भनेर नबोलाएपछि म कसरी आमालाई चिनुँ ।अलच्छिनीले आमालाई टोकी ।यस्तै यस्तै शब्द मात्र सुनेकी छु ।आमालाई कसरी टोक्न सक्छु ?
एक पटक देख्न सम्म पाएको छैन।अनि,मिस! तपाईँ नै भनिदिनुस् ?आमाको चित्र कसरी बनाऊँ?