अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 06:41

बोक्सीको आरोपमा २२ वर्षदेखि परिवारबाटै यातना, दिसा खुवाउने प्रयास

बिआरटीनेपाल २०७३ मंसिर ६ गते १९:५० मा प्रकाशित

आफ्नै परिवारका सदस्यबाट २२ वर्षदेखि बोक्सीको आरोपमा यातना बेहोर्दै आएकी ७१ वर्षीया दलित वृद्धा न्याय माग्दै सदरमुकाम आएकी छन्। दुई देवर र तिनका परिवारबाट बोक्सी आरोपमा निरन्तर कुटपिट र लान्छना बेहोर्दै आएको बताउँदै तिर्थमायाले आफू सहनै नसकेर न्याय माग्न सदरमुकाम आएको बताइन्।

‘२२ वर्षदेखि बोक्सी भन्दै कुट्थे, गाउँ समाजमा जहासुकै बेइज्जत गरिदिन्थे, आजसम्म सहदै आएकी थिएँ,’ उनले गहभरीट्ठ आँसु पार्दै भनिन्,‘ कात्तिक २३ गते पनि साइलो देवर केशव र कान्छो देवर काले विकको परिवारले प्लास्टिकमा दिसा ल्याएर बोक्सी भन्दै मुखमा दलिदिए।

तीर्थमायाका अनुसार केशब र कालेलेअघिल्लो वर्षको चैतमा समेत बोक्सीको आरोपमा दिसा र पिसाब खुवाउन खोजेका थिए । ‘त्यो बेला पनि यो बोक्सीलाई खुवाउनै पर्छ भनेर परिवार नै आएका थिए’ उनले सुनाइन् ‘पछि नातीनातीना भएकाले जोगिएँ।’

देवरका परिवारको घृणित व्यबहारबाट विक्षिप्त बनेकी तीर्थमाया घर छाडेर सदरमुकाम हिँडेकी थिइन्। उनलाई सदरमुकाम नजिक भीमेश्वर नगरपालिका–६ की कमला कार्कीले भेटाएपछि जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा पु¥याएइकी हुन्।

तीर्थमायाका पति रणबहादुर विक आरन (फलाम) को काम गर्छन्। छोरा कृष्ण श्रीमतीसहित ४ नाती नातिनासगैँ छुट्टै घरमा बस्छन् भने छोरी शान्तमायाको छिमेकी जफे गाविसमा बिबाह भएको छ।
भूकम्पले घर भत्काएपछि रणबहादुर दम्पती कटेरोमा बस्दै आएका छन्। कटेरोमै उनीहरुको आरन छ। ‘श्रीमान आफ्नो दुःख जेलो गरेर खाने सोझो हुनुहुन्छ,’ उनले भनिन्, ‘श्रीमानको त्यही सोझोपनको फाईदा उठाएर ममाथि यातना दिँदै आए।’

तीर्थमायाले सुडेनी तालिमसमेत लिएकी छिन्। उनका अनुसार साँहिला  केशब र कान्छा देवर कालेले २२ वर्षदेखि जग्गा खाएको आरोपमा कुटपिट गर्दै आएका थिए। तीर्थमायाका ससुराले गाउँमा बन्धकी राखेको जग्गा जेठो छोरो तीर्थबहादुरका पति रणबहादुरले आफूले ऋण तिरेर निखनेपछि राम्रो जग्गा दाजु भाउजुले खाएको भन्दै केशब र कालेले कुटपिट गर्दै आएका थिए।

‘प्रत्येक दिन रक्सी खाएर हाम्रो घरमा आई, त्यो बोक्सी खै भनेर श्रीमानकै अगाडी तथानाम भन्थे, धेरै पटक लछारपछार पार्थे,’ तीर्थमायाँले रुदै सुनाइन, ‘न्याय माग्न थुप्रै पटक प्रहरीकोमा जान खोजेँ, तर छोराछोरीले रोके।’

उनका अनुसार एक महिनाअघि गाउँका एमाले नेता एवम् समाजसेवी भरत सुनुवारको निधन भएपछि गाउँलेले आयोजना गरेको शोक सभाबाट फर्कंदासमेत देवर, देउरानी र भतिजी मिलेर गाउँ नजिकै बाटोमा हातपात गरेका थिए।

‘रक्सी खाएर आएर, मलाई ढुंगाले हाने, भतिजीले उनका साथी लगाएर कुट्न पनि खोजी,’ उनले सुनिन्, ‘पछि गाउँलेले गाली गरेपछि उनिहरु पछि हटे।’

घटनापछि न्याय माग्दै सदरमुकाम आएकी तीर्थमायाले दुवै देवरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छिन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले घटनामा संलग्न मध्ये तीर्थमायाका कान्छो देवर काले कामीलाई पक्रउ गरिसकिएको जानकारी दिए। अर्का आरोपित केशबको भने खोजी भईरहेको समेत कुर्मीले बताए । दोषीलाई बोक्सी आरोपमा मुद्धा चल्ने कुर्मीले बताए।  नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया