अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 05:16

सरकार भन्छ–गोविन्द केसी अनसनको औचित्य सकियो

बिआरटीनेपाल २०७५ माघ १७ गते १०:३६ मा प्रकाशित

काठमाडौँ, सरकारले प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनको औचित्य सकिएको टिप्पणी गरेको छ । यो समाचार दैनिक नेपालमा प्रकाशित भएको छ ।

बिहीबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले केसीको अनसन तोडाउने जिम्मा उनलाई ‘बोक्ने’हरूकै भएको बताए । राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि यो विषय सकिएको प्रवक्ता बास्कोटाले बताए ।

उनले केसीको आन्दोलनभन्दा एक स्टेप अगाडि बढेर सरकारले मागहरू सम्बोधन गरेको स्मरण गराए । माग पूरा भएको खुसीयालीमा अनसन छोड्ने, उक्साउनेहरूले पनि त्यो काम छाड्नु पर्ने उनको दाबी छ । प्रतिपक्षले सत्ता गुमाउनुपरेको पीडामा डा केसीलाई उचालेको समेत उनले आरोप लगाए ।

प्रवक्ता बास्कोटाले सरकारले अनसनको बेवास्ता नगरेको दाबी गरे । ‘सरकारले बेवास्ता गरेको भए विधेयक कसरी पेस हुन्थ्यो ? संसदीय समितिमा उहाँलाई छलफलका लागि बोलावट हुँदा उहाँको अस्विकार्यता किन रह्यो?’, बास्कोटाले भने ।

अस्पतालसम्बन्धी माग पूरा भइसके पनि पनि काँग्रेसले संसद् अवरोध गरेको भन्दै उनले केही मान्छेको हठले संसदीय प्रक्रिया बन्धक बनाउन उपयुक्त नहुने बताए । 

प्रतिक्रिया