फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ मा प्रतिस्पर्धा गर्दैछ। समूहमा नेपालसँगै युएई, बहराइन र यमन छन्। दोस्रो चरणको छनोट आगामी सातादेखि सुरू हुँदैछ। छनोटको पहिलो खेलमा नेपालले युएईसँग खेल्दैछ। नेपाल र युएईबीचको खेल कात्तिक ३० मा हुनेछ। यो खेल युएईको दुबईमा हुनेछ।
युएईसँग खेलेको पाँच दिनमा नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ। नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ। नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ। फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। युएई समूहको सबैभन्दा बलियो टिम हो। बहराइन ८३औं र यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।
विश्वकप छनोटका लागि नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २६ सदस्यीय टिमलाई बन्द प्रशिक्षणमा राखेर अभ्यास गराइरहनुभएको छ । नेपालमा हुने खेलका लागि सिंगापुरस्थित स्पोर्ट्स फाइभलाई कमर्सियल र मिडिया राइट्स प्रदान गरिएको अखिल नेपाल फुटबल संघले जनाएको छ। यमनविरूद्ध दशरथ रंगशालामा खेल हेर्नका लागि साधारण प्यारपिटको ४ सय र भिआइपीको एक हजार टिकट मूल्य तोकिएको छ।
दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २/२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ। चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।
