अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२५ | Colorodo: 07:40

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज नेपालमा, नेपालले पहिलो खेल युएईसँग खेल्ने

बिआरटीनेपाल २०८० असोज २५ गते ७:१५ मा प्रकाशित

नेपालमा कार्तिक १ गते देखि १० गतेसम्म तीन देशविचको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको खेल हुँदैछ।नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार यो सिरिजमा घरेलु टोली नेपाल, युएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् । खेल मुलपानी क्रिकेट मैदान र किर्तिपुर क्रिकेट मैदानमा हुनेछ । राउन्ड रोबिनका सबै खेल मूलपानी मैदानमा हुनेछन् । नेपालले कात्तिक १ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ। कात्तिक २ मा हङकङसँग र कार्तिक ४ मा नेपालले हङकङसँग पुनः खेल्नेछ । कात्तिक ६ मा नेपालले युएई दोस्रो पटक सामना गर्नेछ।

सिरिजका दुई शीर्ष टोलीले फाइनल स्थान बनाउनेछन् । फाइनल खेल कात्तिक १० किर्तिपुर क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ । क्यानले आइसिसी विश्वकप टी–२० अन्तर्गत एसिया क्षेत्र छनोटअघि युएई र हङकङ सम्मिलित सिरिज आयोजना गरेको हो।  आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० सम्म नेपालमा हुनेछ। खेल मूलपानी र किर्तिपुर क्रिकेट मैदानमा हुँदैछ। समूह ‘ए’मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय