अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 21:11

एसियाली खेलकुद : कबड्डीमा नेपालले जित्ने सम्भावना

बिआरटीनेपाल २०८० असोज १५ गते ६:२४ मा प्रकाशित

१९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले पदक जित्ने सम्भावना बढाएको छ ।  नेपालले आज बङ्लादेशलाई ३७–२४ ले हराएसँगै पदक जित्ने आशा जगाएको हो । जितसँगै नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बढाएको छ । सात टोली सहभागी महिला कबड्डीमा साविक विजेता इरानसँगै नेपाल र बङ्लादेश एकै समूहमा छन् । नेपालले समूहको अर्को खेल भोलि इरानसँग खेल्नेछ । यस्तै, समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनिज ताइपेइ र थाइल्यान्ड रहेका छन् ।

लगातार स्वर्ण जित्ने अभियानमा रहेको इरान समूहमा बलियो रहेकोले बङ्लादेशलाई हराएको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुग्ने सम्भावना बढी छ । कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुनेछ । अन्तिम चारमा पराजित हुने दुवै टोलीले कास्य पाउने व्यवस्था रहेको छ । एसियाडमा नेपालबाट सहभागी २९ खेलमध्ये पदकको आशा गरिएको मार्सल आर्ट्स खेल तेक्वान्दो, कराँते, उशु, जुडोलगायतमा पदकविहीन बनेको छ । उता, महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

नेपाल पहिलो खेलमा भियतनामसँग पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा कोरियासँग पराजित हुँदै नेपालको महिला भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । एसियाडमा महिला भलिबल टिम पहिलो पटक सहभागी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय