गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गर्न लागिएको धनधान्याचल महोत्सवको तयारी तीव्र पारिएको छ । मूल समारोह समितिले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी बारे जानकारी गराएको हो ।
५० करोड सङ्कलन गर्ने लक्ष्यसहित माघ १९ देखि २६ गत्तेसम्म महोत्सव हुँदैछ । महोत्सव सम्पन्न गराउन प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा १ हजार १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । ५९ वटा विभिन्न समितिहरु र २८३ सदस्यीय सचिवालय गठन गरी तयारी तीव्र पारिएको संयोजक सुवेदीले जानकारी दिनुभयो ।
चितवनका सातै स्थानीय तह र नवलपुरको एक स्थानीय तहका प्रमुखको नेतृत्वमा स्थानीय तह स्तरीय समिति, हरेक वडामा वडाध्यक्षको नेतृत्वमा वडास्तरीय समिति गठन गरीएको छ । विभिन्न २२ विधाका राष्ट्रिय ख्याति प्राप्त २२ जना खेलाडीहरुले संयुक्त रुपमा माघ १९ गते दिउँसो महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको मूल समारोह समितिका सचिव दिनेशकुमार चुकेले जानकारी दिनुभयो ।