अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 16:26

मुस्ताङका पाँच वटा पालिकामा आलु जोन कार्यक्रम सञ्चालन

बिआरटीनेपाल २०८१ मंसिर २९ गते ६:१८ मा प्रकाशित

सरकारले मुस्ताङका पाँच वटा पालिकामा चालू आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरेको छ । व्यावसायिक आलुखेती बिस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मुस्ताङका प्रमुख भरतराज गौतमले जानकारी दिनुभयो ।यसअघि मुस्ताङमा स्याउ र च्याङ्ग्रा जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ । मुस्ताङको आलु जोन कार्यक्रममा ७१ कृषि फार्म, समूह र सहकारी सूचीकृत भएका छन् । आलु जोन कार्यक्रमका लागि चालू आर्थिक वर्षमा एक करोड १७ लाख रुपैयाँ बजेट प्राप्त भएको गौतमले जानकारी दिनुभयो ।

पाँच सय हेक्टर क्षेत्रफलमा आलु खेती गरेका किसानलाई जोन कार्यक्रममा समेटिएको छ । चार सय ५९ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको मुस्ताङमा यस वर्ष सात हजार ३१ मेट्रिक्टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमा स्थानीय कुफ्रिज्योति जातको आलुखेती हुन्छ । मुस्ताङमा उत्पादन भएको आलु म्याग्दी, बागलुङ, पोखरा, काठमाण्डौ, चितवन, रुपन्देहीलगायत देशका विभिन्न शहरमा बिक्री हुने गर्दछ । चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिना प्राङ्गारिक विधिबाट उत्पादन भएको मुस्ताङको आलु स्वादिलो र पोषिलो मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू