अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 02:23

एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित

बिआरटीनेपाल २०८१ मंसिर २२ गते ६:१६ मा प्रकाशित

लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ । लुम्बिनी भने लगातार तेस्रो खेलमा पराजित भयो ।जितको लागि १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमा समेटियो । लुम्बिनीले निराशाजनक शुरूवात ग¥यो । मात्र १९ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो । ओपनर अर्जुन साउद गोल्डेन डकआउट भए । उन्मुक्त चन्द ४ रनमा, कप्तान रोहित पौडेल ५ रनमा, टम मोर्स ७ रनमा र साद बिन जाफर ० रनमा आउट भए ।

लगतै सन्दीप जोरा २० रनमा आउट भए। यसपछि १६ औं ओभरमा दिनेश अधिकारी र रामन सिमन्डस सेफ जेबको बलमा आउट भए । दिनेश १४ रनमा र सिमोन्डस शुन्यमा आउट हुँदा ८ विकेटको नोक्शानीमा लुम्बिनीले ९२ रन बनाएको थियो। लगतै सूर्य तामाङ पनि ७ रनमा आउट भए। विवेक यादवले ५४ बलको सामना गर्दै ३ चौका र ७ छक्काको मद्दतले अविजित ७७ रन बनापनि लुम्बिनी ४५ रनको हार व्यहोर्न बाध्य भयो । बलिङमा ब्राण्डन मकमलेन र सेफ जेबले समान ३/३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा मात्र ४ विकेट गुमाउँदै १८७ रनको ठूलो योगफल बनायो । यो खेलमा पनि लुम्बिनीका बलरको प्रदर्शन फितलो रह्यो । विनोद भण्डारी र सेफ जेबले पहिलो विकरटका लागि ४९ रनको साझेदारी गरे । विनोद १७ रन बनाएर आउट भए । यसपछि सेफ र ब्राण्डन मकमलेनले दोस्रो विकेटको लागि ५७ रनको साझेदारी गरे । मकमलेन २३ रनमा आउट भए भने सेफ क्रिजमा जमे। अर्धशतकीय पारी खेलेका उनले ६१ बलको सामना गर्दै ६ चौका र छक्कासहित ९० रनको सानदार पारी खेले ।

दीपेन्द्र सिंह ऐरी अविजित ३९ रनमा क्रिजमा रहे । लगातार तेस्रो खेलमा पनि कमजोर बलिङ गरेको लुम्बिनीको लागि रामोन सिमोन्डसले दुई तथा रोहित पौडेल र विवेक यादवले समान १/१ विकेट लिए । लगातारको तेस्रो जितमा ६ अंक बनाएको सुदूरपश्चिम लिगको शीर्षस्थानमा रहेको छ । उसले ६ अंक बनाएको छ । सहभागी ८ टिममा अंकको खाता खोल्न नसकेको लुम्बिनी लिगको पुछारमा रहेको छ ।

प्रतिक्रिया