अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 04:24

एनपिएल आयोजकप्रति गम्भीर ध्यानाकर्षण, गैरकानुनी क्रियाकलापहरु तत्काल सच्चाउन माग

बिआरटीनेपाल २०८१ मंसिर ९ गते ७:१० मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजक क्यानप्रति गम्भीर ध्यानाकर्षण सार्वजनिक भएको छ । नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्स नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गरी आयोजन क्यानले अबलम्वन गरेको क्रियाकलापहरु गैरकानुनी तथा गैरव्यावसायिक भएको भन्दै गम्भीर ध्यानाकर्षण गरेको हो ।

क्यानले गरेको गैरकानुनी क्रियाकलापहरु तत्काल सच्याउन र कानूनको वर्खिलाप हुने कार्य तत्काल बन्द गर्न विज्ञप्तिमार्फत्र माग गरिएको छ । नेपाल प्रिमियर लिग जस्तो राष्ट्रिय व्यावसायिक खेलकुदको आयोजनाले राष्ट्रिय लाभ प्राप्त हुनुपर्नेमा देशको कानुननै उल्लङ्घन गरी व्यवस्थापनको जिम्मा विना प्रतिस्पर्धा विदेशी एजेन्सीलाई दिएको विज्ञप्तिमा जानाइएको छ । नेपाल क्रिकेट संघ जस्तो सार्वजनिक सस्थाले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन  र खेलकुद ऐनको धारा ४४ को बुदा न. २ अनुसार कुनैपनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्दा वा सम्झौता गर्दा मन्त्रिपरिषदको स्वीकृति अनिवार्य गर्नुपर्ने कानुनलाई पूर्णरुपमा बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालमा आयोजना हुने नेपाल प्रिमियर लिगमा नेपाली विज्ञापन एजेन्सी, कार्यक्रम उत्पादक र टेलिभिजन प्रसारकलाई किन अवमूल्यन गरियो भन्ने प्रश्नको जवाफ नेपाल क्रिकेट संघले नेपाली खेलप्रेमी र खेल जगतलाई दिनैपर्ने हुन्छ’, विज्ञप्तिमा भनिएकाे छ, ‘यदि नेपाली टेलिभिजन प्रसारकहरु यस्ता राष्ट्रिय खेलकुदको उत्पादन र प्रत्यक्ष प्रसारण गर्न सक्षम छैन भन्ने नेपाल क्रिकेट संघलाई लागेको हो भने पनि अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमा स्टार स्पोर्ट्स मात्रै नै किन ? वा अन्तर्रास्ट्रिय रुपमा प्रतिष्ठा कमाएको अन्य अन्तर्रास्ट्रिय च्यानललाई किन मौका दिईएन र बिना प्रतिस्पर्धा स्टार स्पोर्ट्सलाई दिनुको पछाडिको रहस्य र कारण पनि केही छ कि ? छानबिनको विषय हो कि होइन ?’

प्रतिक्रिया