अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५६ | Colorodo: 14:11

आईसीसी महिला विश्वकप क्रिकेट छनोटमा नेपालको चौथो जित

बिआरटीनेपाल २०८१ कार्तिक २७ गते ५:१४ मा प्रकाशित

१९ वर्षमुनिको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले चौथो जित निकालेको छ ।युएईको द सेभेन रंगशालामा भएको खेलमा कुवेतलाई १ सय ६५ रनको फराकिले अन्तरले हराउँदै नेपालले सानदार जित निकालेको हो ।नेपालले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अल आउट हुँदै ४८ रनमा समेटियो । कुवेतका लागि जिफा जिलानीले सर्वाधिक ३६ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी पूजा महतोले पाँच तथा रचनाकुमारी चौधरी र सीमा केसीले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो । नेपालकी पूजा महतोले अविजित १३० रन बनाइन् । यसैगरी सोनी पाख्रिनले अविजित ४३ र सावित्री धामीले ११ रन बनाए । पूजाको शतक नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा बनेको दोस्रो शतक हो । गत फेब्रुवरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाएकी थिईन् । १९ वर्षमुनिको महिला क्रिकेटमा भने यो नै पहिलो शतक हो ।

यो जितसँगै नेपाल पाँच खेलबाट आठ अंक जोडेर दोस्रो स्थानमा छ । अब नेपालले अन्तिम खेलमा बुधबार घरेलु टोली युएईको सामना गर्नेछ ।

प्रतिक्रिया