अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 15:48

‘लिग–टु’ का ८ खेलमा ४ अङ्क जोडेर नेपाली टाेली स्वदेश फर्कियो

बिआरटीनेपाल २०८१ कार्तिक २२ गते ५:२१ मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट लिग–टु का दुई वटा शृङ्खला खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएको छ ।नेपाली टोली झन्डै दुई महिनाको क्यानडा र अमेरिका भ्रमणपछि आज स्वदेश फर्किएको हो । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।लिग–टु अन्तर्गत क्यानडामा भएको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली क्यानडा, नेपाल र ओमान रहेका थिए । यो शृङ्खलामा नेपालले तीन वटा खेलमा हार्दा एउटा खेल रद्द भएको थियो ।

क्यानडा भ्रमण सकेर नेपाली टोली अमेरिका गएको थियो । लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्ड रहेका थिए । यो शृङ्खलामा नेपालले दुई वटा खेल हार्दा एउटा खेल जितेको थियो भने एउटा खेल रद्द भएको थियो । लिग–२ को दुई वटा शृङ्खलाको आठ वटा खेलमा नेपालले जम्मा चार अङ्क जोड्न सक्यो ।

लिग–२ शृङ्खलाकै बीच क्यानडामा भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेपाल दोस्रो भएको थियो । यस्तै नेपालले अमेरिकासँगको तीन वटा खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला ‘क्लिन स्वीप’ गरेको थियो । लिग–२ मा अहिलेसम्म १२ खेल खेलेकाे नेपाल ६ अङ्कसहित पुछारबाट दाेस्राे स्थानमा छ । १२ खेलमा १६ अङ्क जाेडेकाे अमेरिका शीर्ष स्थानमा छ ।

प्रतिक्रिया