२० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनशिप खेल्न जाने टोलीको बिदाइ भएको छ । नेपाल भलिबल सङ्घले आज एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव, भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरे । यही हप्तादेखि माल्दिभ्समा हुने प्रतियोगिताका लागि नेपाली युवा टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ । प्रतियोगिता यही साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ ।
प्रतियोगितामा नेपालसहित आयोजक मादिभ्स, किर्गिस्तान र श्रीलङ्का रहेका छन् । नेपालले पहिलो खेलमा साउन ३ गते श्रीलङ्कासँग खेल्नेछ । यस्तै दोस्रो खेलमा साउन ४ गते किर्गिस्तानसँग र तेस्रो खेलमा साउन ५ गते माल्दिभ्ससँग खेल्नेछ । सबै टिमले एकआपसमा खेलेपछि सेमिफाइनल खेल हुनेछ । लिगको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल साउन ८ गते हुनेछ । नेपाली टोलीले जेनिशा विश्वकर्माको कप्तानीमा खेल्दैछ ।