अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३१
| Colorodo: 15:46
नेपालले सातौँ एशिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र एक कास्यसहित सात वटा पदक जितेको छ । भारतको गोवामा सम्पन्न प्रतियोगितामा सात खेलाडी सहभागी भएकामा सबैले पदक जितेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।नेपाली टोलीले ग्योरोगीमा छ र पुम्सेमा एक गरी सात पदक जितेको हो । पुरुष सिनियर ८० केजीमुनि रञ्जित डङ्गौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजङ्ग खड्काले स्वर्ण जितेका हुन् ।
पुरुष जुनियरको २३ केजीमुनि संयोग खड्का तथा क्याडेट महिलाको ३३ केजीमुनि सुसन्ध्या खड्काले पनि स्वर्ण जिते । जुनियर पुरुष ३२ केजीमुनि रघुनाथ भण्डारीले रजत तथा यु–१२ एकल पुम्सेमा आभास देवले कास्य प्राप्त गरे । नेपाली टोलीको प्रशिक्षकमा दीपेश जोशी र टोली व्यवस्थापकमा सरिता थापा रहेका छन् ।