अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 21:52

टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्यान्डलाई ८४ रनले हरायो

बिआरटीनेपाल २०८१ जेठ २६ गते ५:११ मा प्रकाशित

आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्यान्डलाई ८४ रनको फराकिलो अन्तरले हराएको छ । टी–२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डलाई हराएको यो पहिलो पटक हो ।आज बिहान गुयानाको प्रोभिडेन्स मैदानमा भएको खेलमा जितका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५ ओभर २ बलमा ७५ रनमा अलआउट भयो । न्युजिल्याण्डका ग्लेन फिलिप्सले १८ तथा म्याट हेनरीले १२ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अफगानिस्तानका राशिद खान र फारुकीले समान चार विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५९ रन बनाएको थियो । उसका रहमानउल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । इब्राहिम जद्रान ४४ रनमा आउट भए । न्युजिल्यान्डका म्याट हेनरी र ट्रेन्ट बोल्टले समान दुई तथा लोकी फर्गुसनले एक विकेट लिए । अफगानिस्तान र न्युजिल्यान्ड समूह ‘सी’ मा छन् ।अफगानिस्तानले आफ्नो पहिलो खेलमा युगान्डालाई एक सय २५ रनले हराएको थियो । आज पहिलो खेल खेलको न्युजिल्यान्ड पराजित भएको हो । यो समूहमा वेस्टइन्डिज, युगान्डा र पपुवा न्यु गिनी (पीएनजी) पनि रहेका छन् ।

अहिले भइरहेको अर्को खेलमा समूह ‘डी’ का बंङ्ग्लादेश र श्रीलङ्का खेलिरहेका छन् । श्रीलङ्काले बङग्लादेशलाई जितका लागि एक सय २५ रनको लक्ष्य दिएको छ । बङग्लादेशको यो विश्वकपमा पहिलो खेल हो । पहिलो खेलमा श्रीलङ्का दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । समूह ‘डी’ मा नेपालसहित दक्षिण अफ्रिका र नेदरल्यान्डस् पनि रहेका छन् । आज बेलुका नेदरल्यान्डस् र दक्षिण अफ्रिका तथा समूह ‘बी’ का अस्ट्रेलिया र इंग्ल्यान्डबिच खेल हुनेछ । इंग्ल्यान्ड टी–२० विश्वकपको साविक विजेता टोली हो ।

प्रतिक्रिया