अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

१९औं एसियाली खेलकुद : नेपाली पब्जी टोली पनि सेमिफाइनलबाटै बाहिरियो

बिआरटीनेपाल २०८० असोज १३ गते ६:२३ मा प्रकाशित

१९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ । शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो । फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल तेस्रो भएपछि फाइनल चरण पुग्न सकेन । सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी, समिर गुरुङ र संगिन भट्टराई सम्मिलित नेपाली टिमले ५४ मिनेट ३३.३४६ सेकेण्ड टाइमिङ निकाले ।

कोरिया ५० मिनेट ३७.१५१ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहँदा चाइनिज ताइपेई ५२ मिनेट १९.३९३ सेकेण्ड टाइमिङसहित दोस्रो स्थानमा रहेर फाइनल चरण पुगेका छन् । नेपालले जापानलाई भने पछि पारेको थियो । नेपाल र जापान सेमिफाइनलबाटै बाहिरिए ।सेमिफाइनल चरणको समूह बी को खेल शनिबार दिउँसो हुनेछ । सेमिफाइनलमा दुवै समूहबाट शीर्ष दुई टोली फाइनल चरण पुग्नेछ र फाइनल चरणमा शीर्ष तीन स्थानमा रहनेले पदक जित्नेछ ।नेपालले यसअघि दुई चरणको एलिमिनेसन राउण्ड पार गर्दै सेमिफाइनल पुग्दै पदकको आशा जगाएको थियो । तर सेमिफाइनलबाट बाहिरिएपछि पब्जीमा पदक जित्ने आशा सकिएको छ ।

इस्पोर्ट्समा नेपालले यस पटक पाँच इभेन्टमा सहभागिता जनाएकोमा चार इभेन्टमा नेपालको चुनौती समाप्त भइसकेको छ । अब डोटा टु के अन्तर्गत नेपालले शनिवारै क्वाटरफाइनलमा कीर्गिस्तानसँग खेल्नेछ । यो खेल बेलुका ७ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय