न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्ट क्रिकेटमा न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ । विश्व टेस्ट च्याम्पियन न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै बंगलादेशले इतिहास रचेको हो ।जितसँगै बंगालदेशले २ खेलको श्रृंखलामा १–० को अग्रतासमेत बनाएको छ । क्रिकेटका सबै प्रकारका फर्म्याटमा न्यूजिल्याण्डविरुद्ध बंगलादेशको यो पहिलो जित हो ।
आफ्नो घरेलु मैदानमा न्यूजिल्याण्डको भने पाँच वर्ष पछिको यो पहिलो हार हो । सन् २०१७ मा न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग विलिंगटनमा पराजित भएको थियो ।न्यूजिल्याण्डले अन्तिम दिनको खेल ५ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको अवस्थाबाट सुरु गरेको थियो । तर बाँकी ५ विकेट न्यूजिल्याण्डले २२ रनमा गुमायो ।
बंगलादेशले अहिलेसम्म देशबाहिर ६१ वटा टेष्ट म्याच खेलेको छ । जसमा यो उसको छैठौं जित हो । यसअघि बंगलादेशले वेष्टइण्डिज, श्रीलंका र जिम्बावेलाई दुई÷दुई पटक हराएको थियो ।
