अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 17:43

नेपाल–युएई पहिलो टी–२० बिहीबार, इतिहास रच्ने अर्को अवसर

बिआरटीनेपाल २०७५ माघ १६ गते ८:४४ मा प्रकाशित

। युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले बिहीबार टी–२० अन्तर्रा्ष्ट्रिय सिरिजअन्तर्गत् युएईसँग पहिलो खेल खेल्नेछ । तीनओटा एकदिवसीय र तीनओटा टी–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले एकदिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ ।

एक दिवसीय सिरिजअन्तर्गत् नेपालले पहिलो खेलमा तीन विकेटको पराजय व्यहोरे पनि दोस्रो खेलमा शानदार खेल खेल्दै १४५ रनको जित हासिल गरी सिरिज बराबरी गरेको थियो । तेस्रो खेलमा पनि २५५ रनको कठिन लक्ष्य नेपालले पछ्याउँदै प्रशंसायोग्य जित हासिल गर्दै सिरिज जितेको थियो । नेपालले टी–२० अन्तर्रा्ष्ट्रिय सिरिजअन्तर्गत् दोस्रो खेल माघ १८ र अन्तिम खेल माघ २० गते खेल्नेछ ।
टी–२० अन्तर्रा्ष्ट्रिय सिरिजका सबै खेल नेपाली समयानुसार २ः४५ बजे हुनेछ । सम्पूर्ण खेल दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ । जुन मैदानमा नेपालले ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो । राम्रो ‘फर्म’मा रहेको नेपाली टोलीले टी–२० सिरिज जितेर नेपालसामु अर्को इतिहास रच्ने मौका आएको छ ।

जुनसुकै ठूला प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर टीका–टिप्पणी हुने गरेपनि जारी सिरिजमा नेपाली ब्याट्सम्यानले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन् भनी प्रमाणित गरिसकेका छन् । सन् २०१४ को टी–२० विश्वकपमा टी–२० अन्तर्रा्ष्ट्रिय राष्ट्रको मान्यता पाएको नेपालले २०१५ मा टी–२० विश्वकप छनोटमा खराब प्रदर्शनपछि मान्यता गुमाएको थियो । पुनः गत वर्ष मार्चमा एकदिवसीय राष्ट्रको मान्यता पाएको नेपालले स्वतः टी–२० अन्तर्रा्ष्ट्रिय मान्यतासमेत पाएको छ । टी–२० सिरिजमा नेपालले युएईलाई पराजित गर्नसके नेपालको ऐतिहासिक पहिलो टी–२० अन्तर्रा्ष्ट्रिय सिरिजमा पनि जित हुनेछ ।

सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डले संयुक्तरुपमा आयोजना गरेको टी–२० विश्वकप छनोट नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग २० रनले पराजित भएको थियो । त्यस्तै, सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपअन्तर्गत् अभ्यास खेलमा युएई ६ विकेटले विजयी भएको थियो । सन् २०१३ मा पनि भएको विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले युएईलाई उसकै घरेलु मैदानमा ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू