एन्फा कास्कीको आयोजनामा पोखरामा आजदेखि मनकामना केवुलकार पोखरा कप फुटवल प्रतियोगिता शुरु भएको छ । छैटौं सस्करणको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली शसस्त्र प्रहरी बलले विजयी सुरुवात गरेको छ । हिमालय शेर्पालाई २ – १ गोल अन्तरले हराउदै एपिएफले अन्तिम आठमा स्थान बनाएको छ ।
सम्पन्न खेलको पहिलो हाफको २५ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिएका थिए । दोस्रो हाफमा पाएको फ्रिकिकलाई सदुपयोग गर्दै शेर्पाले खेलमा कमब्याक गर्यो । खेलको ५४ औं मिनेटमा अमर डंगोलले गोल गरे । खेलको ७८ औं मिनेटमा एपिएफले डिबक्स भित्र ह्याण्ड भएपछि पेनाल्टीको अवसर पायो । सुदिप सिख्राकारले गोल गर्दै शेर्पाको चुनौति २–१ गोलले पन्छाउँदै एक गोलको अग्रता बनाए ।
बुधबार दोस्रो दिनको खेल डफिन्स टिम फेमेली क्यामरुन र च्यासल युथ क्लब बीच खेल हुने छ । प्रतियोगिताको बिजेताले ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसै गरि उपविजेताले ४ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । उत्कृष्ठ खेलाडीलाई मोटरसाईकल प्रदान गरिने छ । उत्कृष्ठ पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले गर्नुभएको थियो ।