अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 10:14

मानव अधिकार तथा शान्ति समाज प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७५ असोज १ गते ८:०८ मा प्रकाशित

दोषीहरूलाई सरकारी संयन्त्रले संरक्षण गरेको कारण सरकार विरुद्ध नागरिकहरू आन्दोलित

१. मानव अधिकार तथा शान्ति समाज नवलपरासी शाखा (बर्दघाट सुस्ता पश्चिम)द्वारा २०७५ भदौ ३० गते नवलपरासीको बर्दघाटमा आयोजित “आधारभूत स्वतन्त्रता विधिको शासन र सरकारको आचरण” विषयक नागरिक सभामा वक्ताहरूले सरकारी आचरणले स्वतन्त्रताको आकाशमा ग्रहण लाग्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सभामा प्रमुख वक्ताको रूपमा बोल्दै शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले कतिपय अपराधका घटनामा दोषीको पहिचान गर्न नसक्दा र कतिपय घटनामा दोषीहरूलाई सरकारी संयन्त्रले संरक्षण गरेको कारण सरकार विरुद्ध नागरिकहरू आन्दोलित हुन थालेको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्व राज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेलले कञ्चनपुरमा बालिका हत्याको घटना र तत्पश्चात् सरकारको संदिग्ध भूमिकाले नेपाल प्रहरीको छवि धमिलिएको बताउँदै सरकारी आचरण स्वतन्त्रता र विधिको शासन विरोधी देखिएको धारणा व्यक्त गर्नु भएको थियो । शान्ति समाज नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) शाखाका सभापति सन्तोष अधिकारीको सभापतित्वमा सम्पन्न सभामा पूर्व सांसद विक्रम खनाल, बर्दघाट नगरपालिका प्रमुख धिरज बस्याल, राम ग्राम नगरपालिका प्रमुख नरेन्द्र गुप्ता, सुस्ता गाउँपालिका प्रमुख रामप्रसाद पाण्डे, शान्ति समाजका संस्थापक सदस्य कृष्ण कँडेल, शान्ति समाज उप सभापति गोविन्द खनाल, सचिव राजेन्द्र पौडेल, कुल दीप आचार्य, सञ्चारकर्मी नारायणी भण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन शिव प्रसाद पौडेलले गर्नु भएको थियो ।

२. मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको १३६ औँ बैठक २०७५ भदौ ३० गते नवलपरासीको बर्दघाटमा सम्पन्न भएको छ । बैठकले शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक जगत् मुखी, जीवन मुखी, सेवा मुखी भन्ने मूल नारासहित २०७५ मङ्सिर १४ र १५ गते विराटनगरमा आयोजना गर्ने निर्णय गरेको छ । राष्ट्रिय परिषद् बैठक समाजको सर्वोच्च नीति निर्णायक अङ्ग हो । त्यस दौरान आगामी दुई वर्षका लागि सभापतिसहित केन्द्रीय कार्यसमितिका २७ पदमा निर्वाचन हुदैँछ । सो प्रयोजनका लागि अधिवक्ता भरतबहादुर थापालाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ । समाजका सभापति डा. गंगाधर अधिकारीको सभापतित्वमा सम्पन्न केकास बैठकमा सल्लाहकार होमकान्त चौलागाई, वरिष्ठ उपसभापति रामजीप्रसाद सुवेदी, उपसभापति गोविन्द खनाल, महासचिव उत्तम पुडासैनीसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र पर्यवेक्षकसहित ३२ जनाको उपस्थिति थियो । बर्दघाटमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले कञ्चनपुर लगायत देशका विभिन्न भागमा घटेका बलात्कार र हत्याका जघन्य घटनामा सरकारी संयन्त्रको उदासिनता र विवादास्पद भूमिकाको निन्दा गर्दै, दण्ड हीनता र स्वेच्छाचारीताको विरोधसहित राष्ट्रिय परिषद् बैठकमा केन्द्रीय समितिका तर्फबाट प्रस्तुत गरिने चार वटा प्रस्ताव पनि अघि सारेको छ ।

३. हालसम्म शान्ति समाजको आजीवन सदस्य सङ्ख्या १००९ पुगेको छ । यसै गरी शान्ति समाजको २० औँ राष्ट्रिय परिषद् बैठकले निर्देशित गरे अनुरूप ३ जना आजीवन सदस्यको सदस्यता खारेज गर्ने निर्णय पनि केकास बैठकले गरेको छ ।

समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति: २०७५ असोज १

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू