अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 02:38

दुबईमा छैटौँ मध्यपूर्व क्षेत्रीय बैठकको आयोजना हुँदै

बिआरटीनेपाल २०७५ भदौ ५ गते २३:०० मा प्रकाशित

प्रेस विज्ञप्ति

मध्यपूर्व क्षेत्रीय भेला

गैर आवासीय नेपाली सङ्घले आफ्नो स्थापनाकाल देखि नै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र सम्मानित बनाउन समयसापेक्ष सुधारका लागि सरकार तथा अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको छ । “नेपालीका लागि नेपाली” भन्ने मूल नारा रहेको यस सङ्घले वैदेशिक रोजगारी सम्बन्धी विषयहरूलाई आफ्नो कार्य प्राथमिकतामा राखेको छ । सङ्घकै सुझाव र पहलमा नेपाल सरकारबाट पछिल्लो समयमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत भएका छन् । विश्व व्यापीकरणको लहरसँगै वैदेशिक रोजगारीको क्षेत्र समेत बृहत् बन्दै गएको छ र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा चुनौती र समस्यामा पनि परिवर्तन भइरहेको छ ।

यसै सन्दर्भमा “सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकार: ज्ञान, सीप, विप्रेषण र उद्यमशीलताक समृद्धिको आधार” भन्ने नारा सहित यही अगष्ट २३ देखि २५ तारिखसम्म युएईको दुबईमा छैटौँ मध्यपूर्व क्षेत्रीय बैठकको आयोजना हुँदैछ । मर्यादित र सम्मानित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीका क्रममा वा व्यवसाय सञ्चालनका लागि मध्यपूर्वका देशमा रहेका नेपालीहरूले भोग्नुपरेको समस्या पहिचान गरी नेपाल सरकारको ध्यानाकर्षण गराउनु यस बैठकको मुख्य उद्देश्य रहेको छ ।

बिस लाख भन्दा बढी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू श्रमिकका रूपमा यस क्षेत्रमा कार्यरत हुनुहुन्छ । संख्यात्मक रूपमा सबै भन्दा धेरै नेपाली कार्यरत रहेका यस क्षेत्रका नेपालीहरूको समस्याहरू सम्बोधन गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य हो ।

नेपालमा भित्रने कुल रेमिट्यान्सको करिब ६० प्रतिशत मध्यपूर्वबाट नै आउँछ । तर त्यो क्षेत्रमा कार्यरत गैर आवासीय नेपालीहरू विभिन्न अप्ठ्यारोमा पर्दा सहज सहयोग पाउने वातावरण बन्न सकेको छैन । मध्यपूर्वमा कार्यरत नेपालीहरू माझ स्थानीय भाषा र कानुनमा ज्ञानको कमी तथा सूचना अभाव लगायत विविध कारणले जेल जीवन बिताइरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा एकातिर छ भने अर्कोतर्फ काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएकाहरूको समस्या उस्तै छ । स्वास्थ्य तथा सुरक्षाका बारेमा चेतना नहुनाले कतिपयले अकालमा ज्यान गुमाउनु परेका यथार्थता सर्वविदितै छ । तसर्थ यी सबै पक्षमा बैठकले गम्भीरतापूर्वक छलफल गर्नेछ र त्यस्ता समस्या निराकरणका लागि सुझाव प्रस्ताव गर्नेछ ।

विदेशमा कडा परिश्रम गरेर विप्रेषण भित्र्याउनेहरुले सोचे जस्तो आम्दानी र बचत गर्न सकेका छैनन् । उनीहरूको आय मूल रूपमा अनुत्पादक उपभोगमा खर्च हुँदा भविष्य सुनिश्चित हुन सकेको छैन । विदेशबाट पठाएको रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने/गराउने वातावरण बन्न सकिरहेको छैन । यस विषयमा पनि बैठकमा छलफल गरिनेछ । साथै वैदेशिक रोजगारीमा जाने नेपालीहरूको जनचेतना वृद्धिका निम्ति गर्नुपर्ने कार्यहरू, विदेशमा सिकेका ज्ञान तथा सीप मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने पनि यस पटकको बैठकको छलफलको अर्को महत्त्वपूर्ण विषय हो ।

त्यसका साथै वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सिपमुलुक तालिम तथा फर्केर आएका युवा युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन, समाजमा पुनर्स्थापना र समायोजन, स्वास्थ्य सुरक्षा सम्बन्धी र आफूलाई अफ्ठ्यारो पर्दा कुन निकायमा कसरी सम्पर्क गर्ने भन्ने कुराको चेतना, घरेलु कामदारको समस्या, सामाजिक सुरक्षा कोष, हजार अभियान, वैदेशिक रोजगारीमा जाने क्रममा हुने ठगी नियन्त्रण फ्री–टिकट तथा भिसाको कार्यान्वयन, अंगभंग भएका र मृत्यु भएकाको परिवारलाई सरकारले दिनुपर्ने सुविधा लगायतका विषयमा समेत बैठकमा छलफल हुने छ ।

यस्तै विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैङ्कको स्थापना, अनलाइन प्रणालीमार्फत विभिन्न निकायहरुलार्ई जोडी कामदार र सरकारी निकायबिच समन्वय, वैदेशिक रोजगारीमा गएकाहरूको लागि सञ्चय कोष जस्ता विषयमा बैठकले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । बैठकका निष्कर्षहरूलाई सरकार लगायत सम्बन्धित निकायहरू समक्ष पुर्याइनेछ ।

बैठकमा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रूपमा खाने पानी मन्त्री बिना मगर, पूर्व श्रम मन्त्री रमेश लेखक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विपिन आचार्य, अन्य सरोकारवाला निकायका पदाधिकारीहरू, गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षकहरु, पदाधिकारीहरू, सदस्यहरू, विभिन्न मुलुकका एनसिसिका प्रतिनिधिहरू र एनआरएनएका अभियन्ताहरू लगायत सञ्चारकर्मीहरू सम्मिलित हुनु हुनेछ ।

गैर आवासीय नेपाली सङ्घका मध्यपूर्व संयोजक आर. के शर्माको संयोजकत्वमा हुन गइरहेको यस बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । यस अवसरमा सरकार र सरोकारवाला माझ मध्यपूर्वका मुद्दाहरू प्रति गम्भीर ध्यानाकर्षण गराउन बैठकमा सहभागी भई आवश्यक सहयोग गरेर बैठक सफल बनाउन सञ्चारकर्मी लगायत सम्बन्धित सबैमा सङ्घ हार्दिक अनुरोध समेत गर्दछ ।

भूषण घिमिरे
प्रवक्ता
गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय परिषद ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू