अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 01:59

चीनको औपचारिक भ्रमण समापन पछी, त्रिभुवन बिमानस्थलमा माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महाराले जारी गर्नु भएको प्रेस नोट

बिआरटीनेपाल २०७४ भदौ २७ गते ०:२९ मा प्रकाशित

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कनुहुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  माननीय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्री कृष्णबहादुर महाराज्यूले जारी गर्नु भएको प्रेस नोट

उपस्थित पत्रकार मित्रहरू,
जनवादी गणतन्त्र चीनका विदेश मन्त्री महामहिम वाङ यीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मैले मिति २१ देखि भाद्र २६, २०७४ (तदनुसार सेप्टेम्बर ६‒११, २०१७) सम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गरेँ। उक्त भ्रमणका क्रममा सेप्टेम्बर ७ का दिन चीनका राज्य परिषद्का प्रधानमन्त्री महामहिम लिई खछियाङसंग शिष्टाचार भेट र स्टेट काउन्सेलर याङ जेइछीसंग भेटवार्ता तथा चिनियाँ विदेशमन्त्री महामहिम वाङ यीसंग प्रतिनिधिमण्डल स्तरमा द्विपक्षीय वार्ता गरेँ।

महामहिम लिई खछियाङसंगको भेटको अवसरमा मैले सम्माननीय प्रधानमन्त्री शेरवहादुर देउवाको शुभकामना सन्देश सुनाउदै महामहिम लिलाई नेपालको एक चीन नीति तथा नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुने नदिने प्रतिबद्धता दोहोर्याएँ। साथै, बेल्ट एण्ड रोड इनिसियटिभले उपलब्ध गराएको अवसरबाट लाभ लिन दुवै देशले मिलेर काम गर्नुपर्ने कुरामा जोड दिँदै यसबाट भौतिक  पूर्वाधार निर्माण, व्यापार, पर्यटन, लगानी प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध विस्तारका क्षेत्रमा पारस्परिक सहयोग बढाउन सकिने विश्वास व्यक्त  गरेँ । त्यस्तै, राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाको रूपमा अन्तरदेशीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी कार्य शीघ्र अघि बढाउन अनुरोध गर्दै यो रेलमार्ग निर्माणमा नेपालका प्रमुख दलका शीर्ष नेताहरुवीच मतक्यैता भएको कुरा व्यक्त गरेको थिएँ। उच्चस्तरीय भ्रमणको महत्त्व दर्शाउदै हामी चिनियाँ राष्ट्रपतिको भ्रमणको प्रतीक्षामा रहेको र नेपालका प्रधानमन्त्रीले वहाँलाई उपयुक्त समयमा नेपाल भ्रमणको लागि आमन्त्रण गर्नुभएको कुरा राखेको थिए। उक्त अवसरमा मैले चिनियाँ उपप्रधानमन्त्री वाङ याङ्ले गत महिना गर्नुभएको सफल भ्रमणको स्मरण गर्दै नेपालका प्रधानमन्त्रीलाई वहाँ मार्फत दिनुभएको चीन भ्रमणका निम्तिका लागि धन्यवाद दिए र प्रधानमन्त्रीले उपयुक्त समयमा चीनको भ्रमण गर्न चाहेको सन्देश सुनाएँ ।

प्रत्युत्तरमा चिनियाँ प्रधानमन्त्री लिले नेपालको एक चीन नीतिको प्रंशसा गर्दै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभवाट नेपाल जस्ता मुलुकहरूले पर्याप्त लाभ लिन सकुन भन्ने चीनको चाहना रहेको बताउनुभयो । वहाँले नेपालले राजनीतिक स्थायित्व हासिल गर्दै गरेकोमा खुसी व्यक्त गर्दै नेपालको आर्थिक विकासमा चीनको सहयोग निरन्तर रहने बताउनुभयो । प्रधानमन्त्री लिले उपयुक्त समयमा दुवै पक्षबाट पर्याप्त तयारी पश्चात् उच्चस्तरीय भ्रमण आदानप्रदान गर्न सकिने बताउनुभयो । हिमालवारपार हुने गरी रेलमार्ग निर्माणको सम्बन्धमा सो मार्ग संसारको सबैभन्दा कठिन भूवनोट भएर जाने तथा छोटो दूरीमा ठुलो उचाइको अन्तर पर्ने भएकोले पर्याप्त वैज्ञानिक अध्ययन अनुसन्धान गरी कामलाई शीघ्र अगाडि वढाइने बताउनु भयो। अरनिको राजमार्गको पुनसंचालनका लागि भौगर्भिक अध्ययन पश्चात् सुरक्षालाई समेत विचार गरी सञ्चालनमा ल्याउने बताउनुभयो। साथै, मैले भ्रमणको क्रममा चीनका स्टेट काउन्सेलर महामहिम याङ जेइछीसंग आपसी हितका विविध विषयहरूमा छलफल गरे । वहाँले नेपालसंगको सम्बन्धलाई चीनले महत्त्व दिएको बताउनुभयो ।

त्यसअघि सोही दिन चीनका परराष्ट्र मन्त्री महामहिम वाङ यीसंगको बैठकको अवसरमा नेपाल‒चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा छलफल भयो । विगतमा भएका सम्झौता एवं समझदारीहरुको कार्यान्वयन गर्न तथा स्थापित द्विपक्षीय संयन्त्रहरुको बैठक नियमित रूपमा आयोजना गर्न हामी दुवै पक्ष सहमत भयौँ । छलफलको क्रममा चिनियाँ लगानी, पर्यटन प्रवर्द्धन, नेपाली हवाइसेवाको बेइजिङ र ग्वाङचाउमा सिधा उडानको सहमति, सांस्कृतिक र जनस्तरको सम्बन्ध विस्तार, सीमा क्षेत्रमा आर्थिक पूर्वाधारको विकास, बैकिङ सेवामा सहकार्य, भूकम्पपछिको पुनर्निर्माण, कृषिमा आधुनिकीकरण, नेपाली वस्तुको चीनमा निर्यात प्रवर्द्धन जस्ता विषयमा सहयोगलाई मूर्त ढङ्गले अगाडि बढाउने समझदारी बनेको छ । उक्त अवसरमा मैले चीनले निरन्तर रूपमा नेपालको विकास र भूकम्प पश्चात् पुनर्निर्माण कार्यमा गरेको सहयोगका लागि धन्यवाद दिए।

सोही दिन अपरान्ह मेरो उपस्थितिमा एक समारोहका बिच नेपाल र चीन सरकारबीच ऊर्जा सहयोग सम्बन्धी समझदारीपत्र (MoU on Energy Cooperation) मा प्रारम्भिक हस्ताक्षर भयो । यसबाट ऊर्जा संभाब्यता अध्ययन, ऊर्जा उत्पादन परियोजनाको विकास तथा निर्माण एवं ऊर्जा प्रसारण लाइन निर्माणमा दुई देशवीच सहयोग विस्तार हुने विश्वास गरिएको छ। त्यसै गरी  चीनमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली राजदूतावास र Zhongjingrun Tourism Investment Co. Ltd बिच समझदारीपत्रमा समेत हस्ताक्षर भयो।सोही दिन साँझ नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोह (Reception) मा उपस्थित चीनको थिङ्क ट्याङ्क, प्राज्ञिक क्षेत्रमा कार्यरत बुद्धिजीवीहरू, व्यापारिक समुदाय, चीनमा रहेका नेपाली समुदाय र बेइजिङस्थित कूटनीतिक समुदायका सदस्यहरुसंग नेपाल-चीन सम्बन्ध एवं सहयोगका विविध पक्षवारेमा कुराकानी भएको थियो ।

सेप्टेम्बर ८ का दिन मैले चिनिया कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री महामहिम सङ थाओसंग भेट गरेँ ।वहाँसँगको भेटमा नेपाल र चीनबीचका द्विपक्षीय सम्बन्ध र सहयोग विस्तारका विषयमा विचारहरू आदानप्रदान भयो ।सोही दिन मैले बेइजिङस्थित चीन परराष्ट्र मामिला विश्वविद्यालय (China Foreign Affairs University) मा “नेपाल-चीन साझेदारी: हिमालवारपारको विकास (Nepal-China Partnership: Trans-Himalaya Development)” विषयमा त्यहाँ अध्ययनरत ६०० विद्यार्थी एवं प्राध्यापकहरु माझ आफ्नो मन्तव्य प्रस्तुत गरेँ ।
सेप्टेम्बर ९ का दिन बेइजिङवाट ग्वाङचाउ आउने क्रममा चीनको हबेइ प्रान्तको सिबाइपोमा रहेको ऐतिहासिक संग्रहालय,  चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका तत्कालीन वरिष्ठ नेताहरूको कार्यालय तथा आवास एवं तत्कालीन चिनियाँ जनमुक्ति सेनाको कार्यालयको स्थलगत अवलोकन भ्रमण गर्नुका साथै हबेइ युनिभर्सिटी अफ इकोनोमिक्स एण्ड बिजिनेशका प्रेजिडेण्टसंग नेपालका शैक्षिक संस्थाहरुसंग सम्बन्ध विस्तार गर्ने विषयमा कुराकानी भयो ।

त्यसै गरी  सेप्टेम्बर १० का दिन ग्वाङतोङ प्रान्तका गभर्नरसंगको भेट, ग्वाङचाउमा नेपाली कन्सुलेट जनरलको उद्घाटन र चिनियाँ तथा नेपाली उद्यमी ब्यवसायीहरुलाई सम्वोदन गर्ने काम सम्पन्न गरे । ब्यवसायीहरुको सहभागितामा भएको कार्यक्रममा नेपालमा उपलब्ध लगानीको अवसरका बारेमा जानकारी गराउनका साथै लगानी गर्न समेत आग्रह गरे ।

सोही दिन ग्वाङतोङ प्रान्तका गभर्नरसंगको भेटमा नेपाल र चीनको ग्वाङतोङ प्रान्तबीच पर्यटन लगानी र जनस्तरको सम्बन्ध विस्तार गर्ने र सहयोगका लागि अघि बढ्ने समझदारी बनेको छ ।
भ्रमणमा परराष्ट्र मन्त्रालयका सहसचिव श्री गणेशप्रसाद ढकाल, उपसचिव श्री कुमार राई, जनसम्पर्क तथा प्रेस संयोजक श्री हरि लामिछानेका साथै बेइजिङमा नेपाली राजदूत महामहिम लीलामणि पौड्याल तथा दूतावासका मिनिस्टर तथा नियोग उपप्रमुख श्री सुशीलकुमार लम्साल, मिनिस्टर इकोनोमिक श्री विनोदप्रसाद आचार्य, मिनिस्टर काउन्सेलर श्री हरिश्चन्द्र घिमिरे र प्रथम सचिव श्री सावित्रा ओली एवं ग्वाङचाउमा नेपाली राजदूत महामहिम लीलामणि पौड्याल, कन्सल जनरल श्री रवि भट्टराई तथा द्वितीय सचिव श्री दीपक बन्जाडेको सहभागिता थियो ।

भ्रमणको उपलब्धीहरु
१. विभिन्न तहमा भएको द्विपक्षीय वार्तावाट नेपाल र चीनबीच राजनीतिक तहमा एक अर्काप्रति विश्वासको वातावरणमा अभिवृद्धि भएको छ।

२. उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन दुई पक्षबीच सहमति भएको छ ।

३. नेपाल र चीनबीच सीमावारपार रेललाइन निर्माण सम्बन्धी प्राविधिक कार्यलाई शीघ्र अघि बढाउन दुवै पक्ष सहमत भएका छन् ।

४. नेपाल र चीनबीच हस्ताक्षर भएको बेल्ट एण्ड रोड इनिसियटिभ सम्बन्धी समझदारीपत्र अन्तर्गत रहेर भौतिक पूर्वाधारको विकास, ऊर्जा सीमावारपारको सञ्जाल निर्माणजस्ता क्षेत्रहरूमा नेपालले प्रस्ताव गरेको आयोजना परियोजनाहरुमा चीनले सहयोग गर्नेछ ।

५. ऊर्जा सहयोग सम्बन्धी समझदारीपत्रमा नेपाल र चीन सरकारबीच प्रारम्भिक हस्ताक्षर भयो ।

६. स्थापित द्विपक्षीय संयन्त्रहरुको नियमितरुपमा बैठक आयोजना गर्न दुई पक्षबीच सहमति भयो।

७. छङ्दुमा नेपाली कन्सुलेट जनरल स्थापना गर्ने विषयमा चिनियाँ पक्ष सहयोग गर्न सहमत भयो।बेइजिङ र ग्वाङचाउमा नेपाली हवाई कम्पनीलाई उडान अनुमति दिने सम्बन्धी  काम शीघ्र अगाडि बढ्ने भएको छ ।

८. विश्वविद्यालय र ब्यवसायीहरुसंगको अन्तरक्रियावाट दुई मुलुकवीचको जनस्तरमा सम्बन्ध विस्तार तथा नेपालमा चिनियाँ लगानी र पर्यटन प्रवर्द्धन हुने विश्वास लिएको छु ।

समग्रमा मेरो चीन भ्रमणमा त्यहाका नेताहरुसँग भएको भेटघाट तथा कुराकानी अत्यन्त सौहार्द्धपूर्ण, सकारात्मक तथा सन्तोषजनक रह्यो । मेरो भ्रमणवाट आपसी समझदारी र विश्वास अभिवृद्धि गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन थप योगदान पुगेको मेरो विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू