काठमाडौँ, २१ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले साउदी अरेबियालाई नेपालमा लगानी गर्न उपयुक्त वातावरण भएको बताउनु भएको छ । आज अर्थ मन्त्रालयमा साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवान (Musaidbin Sulaiman AI Marwang) बिचको शिष्टाचार भेटवार्तामा अर्थ मन्त्री डा. खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताउनु भएको हो ।
भेटका अवसरमा अर्थमन्त्री खतिवडाले साउदी अरेबियासँग भएको स्रोत नेपालमा लगानीको लागि राम्रो अवसर भएकाले समयमै पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले सहयोग गरेकोमा साउदी सरकारलाई मन्त्री अतिवडाले धन्यवाद दिनुभयो । उहाँले करिब ४ लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत भएको भन्दै साउदी अरेबिया नेपालीका लागि दोस्रो घर भएको स्मरण गराउनुभयो । साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरिबी न्यूुनिकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै नेपालको अर्थतन्त्रमा समेत सहयोग पुगेको भनाई व्यक्त गर्नुभयो ।
मन्त्री खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्ताहरूलाई बढी भन्दा बढी सहभागी गराउन दूतावास मार्फत सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउन लागेको जानकारी गराउदैं साउदी नागरिकलाई पर्यटकको रूपमा नेपाल भित्राउने र नेपाली कामदारलाई सिधै आवतजात गर्न सहज हुने उहाँले जानकारी दिनुभयो । जलवायु परिवर्तनको विश्वव्यापी मुद्दामा साउदी अरेबियाले नेतृत्वदायी भूमिका खेल्न अर्थमन्त्री खतिवडाले साउदी अरेबियालाई शुभकामना समेत दिनुभयो ।
भेटमा साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानले साउदी अरेबिया फण्ड मार्फत नेपालमा भूकम्पपछिको पुनर्निर्माण, शिक्षा, स्वास्थ्य र निजी आवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको जानकारी दिनुभयो । नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको भन्दै राजदूतले दुवै देशबिच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
दुई देशको कूटनीतिक तथा राजनीतिक सम्बन्ध अझै प्रगाढ र बलियो बनाउन साउदी सरकार तयार भएको भन्दै राजदूतले श्रमिकहरूका सम्बन्धमा हुन लागेका सम्झौता छिट्टै निष्कर्षमा पुग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नेपाल–साउदी अरेबियाको कूटनीतिक सम्बन्ध चार दशकअघिदेखि नै रहेको बताउँदै साउदी अरेबियाको विकास निर्माणका काममा नेपाली कामदारहरूको महत्त्वपूर्ण भूमिका भएकोमा राजदूतले खुसी व्यक्त गर्नुभयो ।