अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 23:59

प्रदेश सरकारद्वारा चिडियाखाना निर्माणको स्वामित्व ग्रहण : मन्त्री लम्साल

बिआरटीनेपाल २०७५ माघ ८ गते ८:५५ मा प्रकाशित

गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले युनाइटेड क्लव पोखराको पहलमा निर्माणाधीन चिडियाखाना निर्माणको कामलाई गण्डकी प्रदेश सरकारले स्वामित्व ग्रहण गरेको बताउनुभएको छ ।

साथै उहाँले पोखरा महोत्सव आयोजक युनाइटेड क्लवलाई प्रदेश सरकारको सहयोग रहने बताउनुभएको छ । नवौं संस्करणको पोखरा महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा महोत्सव लगायतका अन्य गतिविधि मार्फत् गरेको कामको प्रंशसा गर्दै मन्त्री लम्सालले क्लवको पहलमा पोखराको लेखनाथमा निर्माणाधिन खुल्ला चिडियाखानालाई प्रदेश सरकारका तर्फबाट डेढ करोड रुपैया बिनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले पोखरामा मानव निर्मित पर्यटकीय स्थलहरु गुम्बा र स्तुपाहरुको साथमा अर्को एउटा पयर्टकीय गन्तब्य थपिने उल्लेख गर्नुभयो ।

सो अवसरमा वोल्दै गण्डकी प्रदेश सभाका सदस्य मनबहादुर गुरुङ, ले महोत्सवको आयोजना गरी सामाजिक कामसंगै पर्यटन क्षेत्रमा समेत क्लवले सहयोग गरेको उल्लेख गर्नुभयो । अर्का सदस्य दीपक कोइरालाले क्लवले गरेको कामले गण्डकी प्रदेशको मात्र नभइ समग्र नेपाललाई विश्वसामु चिनाउने काम भएको चर्चा गर्नुभयो ।

अर्का सदस्य राजीव पहारीले सामाजिक काममा अग्रणी अवस्थामा रहेको युनाइटेड क्लवले अव प्राकृतिक सम्पदाहरु फेवाताल लगायतको संरक्षणमा समेत अगाडी वढ्नुपर्ने बताउनुभयो । त्यस्तै गण्डकी प्रदेश सभाका सदस्य विन्दु कुमार थापाले महोत्सवहरुमा सवैभन्दा लोकप्रिय पोखरा महोत्सवलाई दर्शकले साथ दिएको उल्लेख गर्नुभयो ।

त्यस्तै जिल्ला समन्वय समिती कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले युनाइटेड क्लव अन्य क्लव भन्दा भिन्दै धारमा अगाडी वढेकाले यसले लिएको लक्ष्यलाई सवैले साथ दिनुपर्ने बताउनुभयो ।

राजनैतिक दलको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले युनाइटेड क्लवको अभियानलाई नेपाली कांग्रेस कास्कीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष तथा पोखरा जुलोजिकल पार्क निर्माण समितीका अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लवले अन्य क्लवहरुले भन्दा छुट्टै उद्देश्य लिएर बामे सर्ने क्रममा नवौ महोत्सव सम्म आइपुग्दा क्लवकै पहल कदमीमा पोखरामा मानव निर्मित खुल्ला चिडियाखाना निर्माणको काम धमाधम अगाडी वढिरहेको जानकारी दिनुभयो । जुलोजिकल पार्क निर्माणभन्दा पहिला निर्माण सम्पन्न भइसकेको बन्यजन्तु उद्धार केन्द्र हाल सञ्चालनमा रहेको र आगामी असोजबाट सर्वसाधारणका लागी जुलोजिकल पार्क खुल्ला गरिने उहाँको भनाई रहेको छ ।

क्लवका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष तथा सांस्कृतिक संयोजक राजु श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

पुस २७ देखी माघ ८ गते सम्म सञ्चालित महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको लोकदोहोरी तथा लाइभ कन्सर्ट प्रस्तुती रहेको थियोभन महोत्सवमा विभिन्न प्रकारका स्टलहरु, बाल उद्यान, जानकारी मुलक डकुमेन्ट्रीहरुको प्रस्तुती रहेको थियो ।

महोत्सवमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय गन्तब्य हरुको जानकारी, होमस्टेको प्रवद्र्धन, पोखराको पचभैयामा निर्माणाधिन चिडियाखानाको स्याण्ड मोडल र सर्प संरक्षण सम्वन्धी जानकारी दिइएको थियो भने महोत्सव स्थलबाटै लेखनाथको पचभैयामा निर्माणाधिन खुल्ला चिडियाखाना जुलोजिकल पार्कको अवलोकनको लागी निशुल्क बसको समेत ब्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू