अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५६ | Colorodo: 10:11

कुराका कुरा

कमल लम्साल २०८१ फागुन ७ गते १९:५१ मा प्रकाशित

हामीले २०७६ सालदेखि हरेक फागुन महिनामा विचारको उत्सव कर्णाली उत्सव कुडा कर्नालीका मनाउँदै आएका छौं । विगतका पाँच वटा संस्करण हामीले बुलबुले तालको किनारमा बसेर सम्पन्न ग¥र्यौं । र, छैटौं संस्करण यस सिटी हलको आँगनमा आयोजना गर्‍यो ।

धेरैलाई लागेको छ यस उत्सवले सार्थकता पाउँदै गएको छ । यसले कर्णालीलाई चिन्ने र चिनाउने अभियानमा धेरै नै सहयोग पुर्‍याएको छ । कर्णालीको पहिचान केलाउँदै यहाँका मानिसहरुको आत्मबल बढाउने काम गरेको छ । मलाई लाग्छ कुनै पनि मुलुकको समृद्धिका लागि त्यहाँको राजनीतिमात्र महत्वपूर्ण हुँदैन । समाजका विविध आयामहरुको विकास हुन सकेमात्र देश विकास हुने हो । कुनैपनि देश समृद्ध हुन त्यहाँको संस्कृति सबल हुनुपर्छ । त्यहाँको सद्भावना मजबुत हुनुपर्छ । राजनीतिक रुपमा विभाजित समाजलाई जोड्ने भनेकै संस्कृतिले हो । किनभने संस्कृतिले समाजमा गहिरो गरी जरा गाडेको हुन्छ । सबल संस्कृति नै सभ्यताको आधार हो । र, सभ्य समाज यसै पनि सद्भावयुक्त हुन्छ र हुनुपर्छ ।

हामीलाई थाहा छ– समाजले नै हो हामीलाई निखार्ने । विभिन्न समय र सन्दर्भमा अवलम्वन गरिएका समाजिक अभ्यासले नै हामीलाई परिष्कृत बनाउँदै लैजाने हो । यद्यपि समाजमा हुन्छ र हुँदैनको रस्साकस्सी सधैं चलिरहन्छ । ‘भयो’ र ‘भएन’ को संघर्ष भइरहन्छ । त्यसैले हो हामीलाई अघि बढाउने । अडिग बनाउने ।

कतिलाइ लागेको होला कुरा गरेर केही हुँदैन । तर हाम्रो विश्वास छ कि कुरा नगरी केही हुँदैन । एकैनासे पद्धतिमा हुर्केको मानिसलाई अर्कोथरी कुरा पनि हुन्छ भन्ने कुरा पत्याउनै कठिन भएजस्तै हामीले २०७६ सालमा यस्तो विचार उत्सव आयोजना गर्दा धेरैलाई कुरा गर्ने पनि उत्सव हुन्छ भन्ने लागेको थियो । भनिन्छ– बेथिति बीच हुर्केकालाई बेथिति नै रीत हो जस्तो लाग्छ । अरुका कुरा त्यति प्रभावकारी लाग्दैनन् । यद्यपि अरुसँगको अन्तक्रिर्या नहुँदा समाज गतिशील बन्न सक्दैन् । विचारको मन्थनले मात्रै राम्रो र नराम्रो पत्ता लाग्ने हो । अतः अन्तक्र्रिया नै समाज विकासको बैज्ञानिक विधि हो । आज हामीले जे जति उपलब्धी हासिल गरेका छौं ती सबै सामाजिक संवादका प्रतिफल हुन् ।

हामीले मानव विकासलाई केलाउने हो भने कुराकानीको सर्वथा महत्व छ । भाषाको विकास भनेकै कुराकानी गर्ने माध्यमको विकास हो । भाषाबाहेक अन्य विषयको विकासमा पनि कुराकानीकै योगदान छ । तर्कशास्त्र, दर्शन, विधिशास्त्र वा अन्य जुनसुकै विधाको विकास हेर्ने हो भने त्यसको आधार कुराकानी भएको पाइन्छ । विज्ञानसम्मत सामाजिक शास्त्रको विकासमा कुराको धेरै महत्व छ । कसैले केही कुरा व्यक्त गर्छ, त्यसमा अर्कोले खण्डन वा समर्थन गर्छ । धेरैले विचार प्रकट गरेपछि त्यो परिष्कृत हुन्छ । र, सिद्धान्त बन्छ । त्यसले समाजलाई दिशानिर्देश गर्छ । सिद्धान्त बदलिन्छ पनि ।

एकजना शुभचिन्तकले उत्सव बारे असन्तुष्टि जाहेर गर्दै झन्डै १५ मिनेट बोल्नुभो । त्यसपछि मैले भनें यो पनि त कुरै हो । मानिसले कुरै गरेर हो सन्तुष्टि वा असन्तुष्टि प्रकट गर्ने । कुरा नै सहमति वा असमहती प्रकट गर्ने माध्यम हो ।

हामी जान्दछौं– प्रभावशाली दर्शन वा सिद्धान्त पनि कुरै हुन् । देश बनाउने योजना पनि कुराका ठेली हुन् । संविधानका धारा वा कानुनका दफा नै किन नहुन् ति सबै कुरा हुन् । यतिसम्म कि मानिस सपनामा पनि कुरा गर्छ । अझै चराचर जगतका कुरा बारे हामी धेरै नै बेखबर छौं ।

राजनीति र समाजमा कुराको प्रभाव अचम्मको छ । कुरा गरेर केही हुँदैन भन्नु पनि कुरै हो । के राजनीतिक दलका घोषणा पत्र कुराका ठेली होइनन् ? मैले चुनाव जितें भने यस्तो गर्छु, उस्तो गर्छु भन्ने नेताका भाषण र प्रतिवद्धता कुरा होइनन् ? अतः कुराभन्दा पर मैले केही देखेको छैन । हामीलाई दृढ विश्वास छ कुरा नै समाज विकासको सुत्रधार हो । त्यसैले हामी अविचलित यो कुराकानीको श्रृङखला आयोजना गरेका छौं ।

कुराकै वरपर कुरा गर्दा पनि कुरै गर्नुपर्छ । हामीले जानेका छौं एकजना शिक्षकले कक्षाकोठामा कुरा पढाउँछ । आफूले जानेको अरुलाई सिकाउँछ । एकजना वकिलले अदालतमा कुरा नै वहस गर्छ । आफूलाई प्रमाणित गर्न खोज्छ । अखबारका पानाभरी कुरैकुरा छापिएको हामीले पढेकै छौं । सामाजिक सञ्जालका भित्तामा लेखिने लाइन कुरै हुन् । कसैलाई कोही किन मनपर्छ ? कसैलाई कोही सुन्न वा पढ्न किन रुचाउँछ ? के कुराको कुनै स्थान छैन ?

एकजना नेताले जनतासामु कुरै गरेर माग्ने हो– भोट । कुरा राजनीति मात्र पनि होइन कुरा अर्थशास्त्र पनि हो । नेपालमा वर्षेनी सबैभन्दा धेरै नाफा गर्ने संस्था कुरा गर्ने कम्पनी हुन् । नेपाल टेलिकम वा एनसेल । नेपालमात्र होइन संसारभर कुरा गर्ने वा गराउने संस्था सबैभन्दा धनी छन् । अतः कुरा अर्थतन्त्रको आधार पनि हो । यदि कुरै हुदैनथ्यो भने सोचौं त– के हुन्थ्यो ।

एउटा कुखुरीले कसरी भाले वा चल्लासँग सम्वाद गर्छे। भालेलाई कसरी समागमका लागि आव्हान गर्छे। वा चल्लालाई कसरी खाना भेटिएको संकेत गर्छे । मृग मृगिणी कसरी प्रेम वा सुरक्षाका कुरा गर्दाहुन् ? ढुकुरका जोडीको प्रेमालापमा के कुरा हुन्छ होला ? के कुरा विनाको जीवन र जगत हुनसक्छ ?

कुरामा धेरै तागत छ । हामीले तरबारभन्दा कलम ठूलो भनेर त्यसै वादविवाद गरेका होइनौं । कलमले लेख्ने पनि कुरा नै हो । मानिस कुरैले खुशी हुन्छ, कुरैले निराश पनि हुन्छ । हामी कुरैले हाँस्छौं, कुराले नै हामीलाई रुवाउँछ । के कुरामा तागत छैन ? के कुरामा मानवीयता छैन ? मानव हुनुको भाव छैन ? तब हामी किन भनिरहेछौं कि कुरा गरेर कामै छैन ? अतः कुरा मनोविज्ञान हो । मानिस मस्तिष्कको सर्वोच्च अभ्यास हो ।

कुरा समाजशास्त्र हो, मानवशास्त्र हो । गीत संगीतमा पनि कुराकै कुरा गरिएको हुन्छ । केही मिठो बात गर । यो कुराकै आव्हान हो । कुराकानी वा गफगाफ समाजका विशेषता हुन् । डिग्री लिंदाका थेसिस के कुराकै सिलसिलेवार फेहरिस्त होइनन् ? अतः मानव समाज कुरै कुराको समुच्चय हो । कुरा बिनाको समाजको परिकल्पना पनि सम्भव छैन ।

कुराको लय वा भाव हुन्छ । कुरामा मिठास र खल्लोपना हुन्छ । कुरैमा हुन्छ स्विकार्ने र नकार्ने तागत । कुरैले कसैको नङ्ग–नाडी गलाउँछ । कुराले नै हो– कसैको मनमा गुलाब फुल्ने । कुरैले हामीलाई घोर राष्ट्रवादी वा आस्तिक बनाउन सक्छ । कुरैले कसैलाई अघोरी वा नास्तिक पनि । कुरा नै ‘म’ लाई ‘म’ बनाउने साँचो हो । कुरैले हो– कोही कठोर हुने वा पग्लिने । प्रेमपत्र र घोषणापत्र दुबै कुराका कुटुरा हुन् । र, यो भन्दा पर समाज छ भन्ने लाग्दैन । अतः कुरा साहित्य हो। इतिहास हो ।

‘भेटेर कुरा गरौं’ वा ‘भो कुरै नगरौं’ भन्न पनि कुरै गर्नुपर्छ । कुरा बोलेर वा नबोलेर पनि हुन सक्छ । तर कुरा चाहिं हुन्छ हुन्छ । भनिन्छ नि मौनतामा पनि सम्वाद हुन्छ । मैले किताबमा पढेको हरफ हो– ‘उसले लाजले खुट्टाको चोर औंलो बुढी औलोले छोपी’। के पुस्तकका पानामा लेखिएका निर्जीव अक्षर र पाठक बीच सम्वाद नहोला ? उसले खुट्टा बजार्यो, अनि पीठ फर्काएर हिंड्यो । के यसबाट बुझ्न सकिन्न र– उ रिसायो ? भाषाको विकास मानव विकासको सर्वोच्च उपलब्धि हो । त्यही भाषाले नै हो हामी सबैलाई जोड्ने । र, कुरा भाषाको अभिव्यक्ति हो । भाषाशास्त्र हो ।

यदि बोली र भाषा हुँदैनथ्यो र हामीबीच सम्वाद हुँदैनथ्यो तब मात्र भन्न सकिँदो हो कि कुडा गरिकन क्या हुँदो हो ?

मैले यहाँ प्रस्तुत गरेका विचार पनि कुरै हो । यहाँहरु मेरा कुरा ध्यान दिएर सुन्नुभएको छ । परख गर्नुभएको छ । र, मनन गर्नुभएको छ कि म कुराको पक्षमा छु । कुरा गर्नु र हुनुको पक्षमा छु। कुरा नै लोकतन्त्रको सार हो । कुरै नहुने समाजमा लोकतन्त्र हुँदैन । आफ्ना कुरा भन्न र अरुका कुरा सुन्न तयार भएर यस विचार उत्सवमा उपस्थित सबैमा साधुवाद । उत्सवको आयोजनामा साथ, समर्थन र सहयोग गर्ने सबैलाई धन्यवाद । उत्सवको सफलताको शुभकामना प्रदान गरी हामीलाई हौसला दिने सबैप्रति हामी कृतज्ञ छौं । विशेषतः आयोजक संस्था ऋति फाउण्डेसन र कर्णाली उत्सव आयोजक समितिका सबै सदस्यहरु धन्यवादका पात्र हुनुहुन्छ । वक्ता सहजकर्ता सहभागी र दाताहरुको सहयोग नभएको भए हाम्रो कुरै हुन सक्दैनथ्यो । हामीलाई तीन दिनसम्म यस औपचारिक मञ्चमा कुरा गर्न सघाउने सबैप्रति हार्दिक आभार प्रकट गर्दै यस विचार उत्सवको समापन भएको जानकारी गराउँदछु ।

** लम्साल, कर्णाली उत्सवका संयोजक हुन् । यो उनको ७ फागुनमा कर्णाली उत्सव: कुडा कर्णालीका छैटौं संस्करणको समापनमा व्यक्त विचार हुन् ।

प्रतिक्रिया