अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 03:54

तीन घण्टाको उलार

राम खत्री, न्यु योर्क २०८१ असोज २३ गते १०:४४ मा प्रकाशित

धेरै दिन हो वा महिना हो मलाई यादै भएन । एउटा सानो पुस्तक मेरो कम्प्युटर अगाडि थियो । त्यो कहिले कफी टेबुलमा पुग्थ्यो त कहिले उज्यालो घामको खोजीमा झ्यालको शिशा पछाडिको आडमा बस्थ्यो । हिजो देखि ढाड सड्केर हिड्डुल गर्न निकै गार्‍हो भयो । पेन किलर र मस्सल स्पाजमको सानो औषधि खाएर काममा नगई आज घरमै बसेर शरीर तन्काउने प्रयास गरिरहेको थिएँ । फेरि त्यो किताब मेरा आँखा अगाडि आयो । हातमा लिएँ । एकदम सानो उलार । उपन्यास रहेछ । कृतिकारको नाम नयनराज पाण्डे ।

उहाँलाई त धेरै पहिले न्युयोर्कमा भेटेको हो । भेटेको मात्रै नभई उहाँ र हामी सङ्गै कनेक्टीकट राज्यमा भुटानी साहित्य परिषद्ले आयोजना गरेको एउटा ठुलो साहित्यिक कार्यक्रममा भाग लिन गएका थियौँ । पछि एक पटक मैले कुन्नि किन हो फोनमा कुराकानी पनि गरेको थिएँ । मलाई ढाडको पीडा पनि बिर्सनु थियो । कम्प्युटरमा बसेर काम गर्न मन पनि थिएन । उहाँको एउटा असल कृति सल्लीपीर पनि मैले पढिसकेको थिएँ । मलाई मन परेको थियो । त्यसैले आज उलार पढिसक्ने अठोट लिएर फोनसमेत बन्द गरेर बसेँ । शायद दुई घण्टाभन्दा कम समयमै मैले पढिसकेँ । पढिसक्दा नसक्दै समाजदेखि विरक्त भएर रिस पनि उठ्यो र एक्लै बोलेँ — धत्तेरि, यस्तो पनि जिन्दगी हुँदो रहेछ । प्रेमललवाजस्ता पात्रहरू अझै नेपालमा कति होलान् । शान्तिराजा र राजेन्दरबाबुजस्ताले देश पुरै ओगटेका छन् । सिंहदरबार, बालुवाटार, नारायणहिटी सबै उनीहरूको इशारामै हिँड्छ, उनीहरूको इसारामै नाच्छ, र उनीहरूको इसारामै बस्छ पनि ।

नयनराज पाण्डेद्वारा लिखित जम्मा ६० पृष्ठको यो औपन्यासिक कृतिको कुनै मूल्य तोकिएको छैन । बि.सं २०६५ मा प्रथम पटक प्रकाशित भएको रहेछ । त्यसैले यो दोस्रो संस्करणमा कृतिकारले कुनै कुरा थपघट गर्न नचाहेको ब्यहोरा आफ्नो मन्तव्यमा नै बताएका छन् । भनिन्छ, प्रत्येक दशकमा मानिसको बुद्धिको विकास हुन्छ, रुपरङ्ग फेरिन्छ, बानिबेव्यहोरा फेरिन्छ । तर यस कृतिका मुख्य चरित्रहरू द्रौपति तथा प्रेमललवा, कलुवाको अवस्था २०/२५ वर्ष वितिसक्दापनि उस्तै छ रे । त्यसो हो भने २५ वर्षको अवधिमा यो उपन्यासले समेटेको परिवेश, समय, मानवीय रहनसहन यथावतै रह्यो । कसैको जिन्दगी अगाडि बढेन । प्रेमललवाको जीवन, द्रौपतिको जीवन, उनीहरूको जिवीविषा के नै रह्यो । एक तन्त्रीय जहानीया शासन, पञ्चायती शासन र प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रले द्रौपति र प्रेमललवाहरुलाई के दियो । उनीहरू जुलुस होमिन गएको, चुनावमा मासु भात खाएर भोट हाल्न गएको के काम लाग्यो त ? व्यवस्था परिवर्तनको फाइदा त केबल शान्तिराजा, राजेन्दरबाबु, केपीबाबु, देउवाबाबु, माकुने, झले, प्रचन्ड, अग्नी, बादल आकाशलाई मात्रै मज्जा भयो । उनीहरूले आफ्नो सात/सात पुस्तालाई बसिबसी खान पुग्ने व्यवस्था मिलाए । त्यही हो लोकतन्त्र । भ्रष्टाचारीलाई पाँच वर्ष मुक्ति दिन पर्ने कानुन समेत ल्याउन दुई दुई पटक प्रयास गर्ने आजका शान्तिराजाहरुले यसरी ने देश दोहन गरिरहने भए त ?

मेरो पाठकीय मनले खोज्दै थियो कि प्रेमललवाको जीवन शान्तिराजको सहयोगमा सुध्रिएला कि भन्ने तर भएन । बिचरा प्रेमललवाले शान्तिराजलाई भेट्नसम्म पाएन । अन्तिम क्षणमा गए प्रेमललवाले अब म कसैको सहयोग गर्दिन, कसैलाई फोकटमा टाँगा चढाउँदिन भन्ने दृष्ट निश्चय गरेको थियो । त्यस्तै किसिमको दृष्ट निश्चय मैले पनि पेरिसबाट फिर्केपछिका दिनमा गरेको थिएँ । शान्तिराजजस्ता मानिसहरूलाई औपचारिक रूपमा सहयोग गर्न पर्ने अवस्थामा बाहेक व्यक्तिगत हिसाबले कसैलाई पनि सहयोग गर्न नहुने रहेछ भन्ने मैले पाठ सिकेको थिएँ । र, गरिन पनि । यदि त्यसो नगर्ने हो भने यो मानवीय प्रवृत्ति जति सानो भएर मानमर्याद गर्‍यो उति शान्तिराजाहरुको जन्म हुने रहेछ । बाँकी कथा पाठक आफैँले पढ्नु हुनेछ । यो भन्दा बढी लेख्न चाहिन ।