अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 23:37

जापानको प्रशासन, विकास र अर्थतन्त्रको कुरा

गोपी मैनाली २०८१ असोज २३ गते ११:०० मा प्रकाशित

बिहानको खाजापछि इमेल चेक गर्न कम्प्युटर ल्याबतर्फ लागेँ । कमलाले काठमाडौँबाट मेल गरेकी रहिछ । विदेशको निराश मेटाउने साधन इमेल मात्रै हो । उसले इमेल गर्न नजाने कि भए अरू दिक्दार हुन्थ्यो जापान बसाइ ।

मेल चेक गर्दागर्दै पाकिस्तानी साथी महमूद खालिद खानले सोध्यो—तपाई भाग्यमानी हुनुहुँदो रहेछ, कलिलै उमेरमा उप–सचिव अनि जापानको कार्यक्रममा पनि सहभागी हुन पाउनु भएको । उसलाई के थाहा मेरो सोर्‍ह वर्षको अधिकृत जागिरमा पहिलो पटक तालिममा मनोनयन भएको छु भनेर । अनि उसलाई के थाहा सह–सचिवको परीक्षामा लिखित परीक्षामा छानिएर पनि अन्तर्वार्तामा फालिएँ भनेर ।

उसले फेरि प्रश्न गर्‍यो– मनोनयनको लागि विशेष भनसुन गर्न त परेन ? खान पाकिस्तानी भएकोले नेपालको विषयमा बुझ्ने नै भो तर मैले भनेँ ‘त्यस्तो परेन, म बाहिर नगएकोले मनोनयन गरिएको हो ।’

उ किन पत्याउथ्यो, प्रश्न गरिहाल्यो, ‘किन सो¥ह–सत्र वर्षसम्म तालिम वा भ्रमणमा अन्य देश नजानु भएको त ?’

प्रश्न असजिलो छ, सत्य बोलु कि राष्ट्रिय इज्जत ढाकछोप गरौं ! अन्यमनस्कमा परें, तर भन्नै पर्‍यो–‘मेरो इच्छा पनि नभएर हो’ । यो कुरा भन्दा पनि मलाई असजिलो लागिरहेको छ, मसँग एकै दिन नियुक्ति पाएका साथीले सम्मान, पदक, पुरस्कार र बर्सेनि मनोनयन लिइरहेका छन् । कतिपय पहुँचवाला साथीहरू ओभरसिज मात्र जाने अन्यत्र नजाने रणनीतिमा छन् तर आफ्नो आङ कन्याएर छारो किन उडाउने ? आ–आफ्नो भाग्य र चाहनाको कुरा हो ।

तर खानले पाकिस्तानको विषयमा इमानदार भएर भन्यो । उसलाई मनोनयन गर्न साथीहरूले सहयोग गरेछन् । अर्थ मन्त्रालय अन्तर्गत आम्दानी र खर्च हेर्ने दुवै महाशाखामा उसका साथी भएकाले एकै पटक राजस्वतर्फ जापान र खर्च व्यवस्थापन तर्फ मलेसिया मनोनयन गराउन उ सफल भएछ । साथीलाई भनेछ मेरो जापानको सन्दर्भ उल्लेख नगरी निर्णय गर्नु भनेर । उ नोभेम्बरमा जापानबाट फर्कने वित्तिकै तत्काल पुनः मलेसिया जाँदैछ रे । उसले यसरी नै पटक पटक मनोनयन लिने गरेको रहेछ । नेपाल र पाकिस्तानको मात्र होइन, भारत र श्रीलङ्काको अवस्था पनि त्यस्तै नै हो । सेपालिका र अतुर रहमानले यो कुरा बताए, मैले नबताए पनि ।

हामीलाई जापानी अर्थतन्त्रको विषयमा जानकारी दिने कार्यक्रममा लगियो । जापानको प्रतिष्ठित विश्वविद्यालयका प्रोफेसर डा.हिसासी यामादाले जापानको आर्थिक विकासको इतिहासक्रम बडो रोचक पाराले प्रवचन गरे । दुई घण्टा लगाएर बताइएको त्यो इतिहासले विकासयात्रा कति कठिन रहेछ भन्ने स्पष्ट पार्छ ।

मेजी शासनकालदेखि सुरु भएको जापानको विकास अभियान यो अवस्थामा आउनका लागि झण्डै डेढ सय वर्ष लागेछ । यस बिच निकै उतारचढाव भए पनि जापानी जनतामा विकासप्रतिको उच्च निष्ठा र धैर्य भने निरन्तर अटल देखिन्छ । यसबिच दोस्रो विश्वयुद्ध, आर्थिक मन्दी र जातीय सामाजिक संरचनाले विकासको यात्रालाई धकेल्न नखोजेको भने होइन । मेजी शासनकालमा वार्षिक ३.५ देखि ४ प्रतिशतले लगातार आर्थिक वृद्धि गर्न जापान सफल भएछ तर जापानमा प्राकृतिक स्रोत र सम्भावना भने प्रायः थिएन । जापानी संस्कृतिको पर्याय बनेको भटमास समेत अमेरिकाबाट ल्याउनु पर्ने जापान अहिले हरेक कुरामा अमेरिकालाई माथ गर्न तम्सिरहेको छ । विश्व गार्हस्थ्य उत्पादनमा अमेरिकी कूल गार्हस्थ्य उत्पादन हिस्सा ३०.३% छ, जबकि जापानको हिस्सा १४.४% छ तर जापानको जनसंख्या (अमेरिकाको आधा) र भौगोलिक क्षेत्र (अमेरिकाको भन्दा २० गुणा) सानो भएकोले जापानीहरू आर्थिक रूपमा अमेरिकालाई उछिनिसकेको ठान्दछन् । उनीहरूलाई एउटै पीडा छ, यसलाई कसरी निरन्तरता दिने ?

अर्को चिन्ता जनसंख्या प्रवृत्ति परिवर्तन (एजिङ्ग समस्या) का कारण युवाहरू घट्ने र वृद्धहरू बढ्ने क्रम पनि तीव्र छ । यसले आउँदा दिनमा सामाजिक बिमातर्फ राज्यको खर्च ह्वात्तै बढ्ने सङ्केत गरेकाले अर्थतन्त्रलाई अहिलेको प्रगतिको अवस्थाबाट धराशायी (स्ट्यागनेटेड) हुन कसरी नदिने भन्ने चिन्ता प्रत्येक जापानी नीति निर्माता तथा अर्थविदमा देखिन्छ । राष्ट्रिय चिन्ता व्यक्तिगत तहसम्म विस्तार भएपछि मात्र विकासको यात्रा सहज हुदोरहेछ भन्ने शिक्षा पनि जापानको आर्थिक विकासको यात्राबाट सिक्न सकिन्छ ।

हामीले सोध्यौंं— जापानको आर्थिक विकासको यो स्तर हुनुमा खास रहस्य के थियो त ? प्रो. यामादाका अनुसार यसमा चार पाँच वटा कारक तत्त्वहरू उत्तिकै महत्त्वपूर्ण छन्– विगतको पीडा र क्षतविक्षत अवस्था, त्यसले जन्माएको राष्ट्रियताको भावना, जनतामा बचत गर्ने बानी, मानव साधनमाथि गरिएको लगानी, काम र कत्र्तव्यप्रति निष्ठाभाव एवम् दरिलो प्रशासन ।

त्यसपछि मलाई महसुस भयो हामीले हाम्रो देशको विकासको सन्दर्भमा पनि यिनै कुराबाट प्रेरणा लिनुपर्ने हो । हामीले विगतबाट शिक्षा लिएनौं, काममा निष्ठा राखेनौं, मानव पुँजी निर्माण गरेनौँ र प्रशासनलाई व्यवस्थित पनि बनाएनौँ । यी कुराहरू आफैले गर्नुपर्ने हो, अरूको सल्लाह वा सहयोगले होइन । दाताको सल्लाह र सहयोगले मात्र यी कुराहरू प्राप्त गर्न सकिँदैन । जापानले जनतासँग प्रशस्त ऋण उठायो तर बाह्य ऋण स्विकारेन । स्वाभिमान र निष्ठालाई बढी नै महत्त्व दिएका छन् उनीहरूले ।

त्यसपछि चोकियो जोगाकाम कलेजकी गील स्टिलले जापानी प्रशासन र राजनैतिक व्यवस्थाका विषयमा धारावाहिक प्रवचन दिइन् । संसदीय स्वरूपको शासन व्यवस्था अँगालिएकाले दलहरू अन्यत्रजस्तै राजनैतिक परिचालनमा प्रतिस्पर्धा गरिरहेछन् । तोकुगावा शासनको पीडाले होला, अब सम्राट्ले न सैनिक भेसभुसा पहिरन्छन् न सक्रिय भूमिका नै लिन्छन् । केवल साङ्केतिक र औपचारिक राजसंस्था मात्र छ जापानमा । सबै शक्ति डायटमा केन्द्रित छ । जापानी प्रशासनको केन्द्रीकरण विकासको एउटा आधार बनेको छ, जसले अस्थिर राजनीतिलाई पनि निरन्तरता दिने गरेको छ । स्थानीय स्वायत्तता हैन, जिम्मेवारीको विभाजन छ । ४७ प्रिफेक्चर र ३००० नगरपालिकाहरू राज्य र कानुनको निर्दिष्ट सीमामा रहेर नागरिक सेवा प्रदान गरिरहेका छन् । जिम्मेवारीको आधारमा कराधार र राज्य स्रोतको विभाजन छ । राज्य, प्रिफेक्चर र नगरपालिकाको तेहोरो करले जापानी जनता भने निचोरिएका छन् । तैपनि कर तिर्नु गर्व हो सचेत नागरिककका लागि । प्रशासन राज्य व्यवस्थाको केन्द्रमा छ, यो कार्यप्रतिवद्ध, निष्ठावान् र व्यावसायिकहरूको जमात हो । प्रशासनको यही चरित्रका कारण नै राजनैतिक अस्थिरताका कारण पनि जापानको विकास यात्राले निरन्तरता पाएको छ ।

परम्परागत संस्कृतिको मोह पनि जापानीहरूमा प्रशस्त देखिन्छ । भेस, पहिरन, खाना, चाडबाडमा होस् वा कला संस्कृतिमा । उनीहरूले राती विभिन्न देशबाट जम्मा भएका हामीहरूका लागि कोतो (भायोलिन जस्तो परम्परागत बाजा) र शाकुहाची (बाँसुरी जस्तो बाँसको बाजा) का विभिन्न संगीत कम्पोजहरू सुनाए । एक जना अमेरिकन जोहन २७ वर्षदेखि शाकुहाची अध्ययन अनुसन्धान र वादनमा जापानमै बस्दो रहेछ । आफूहरुको अंग्रेजी भाषा राम्रो नभएकोमा दुःख मान्ने जापानीहरु अमेरिकनहरुलाई शाकुहाची जस्तो शास्त्रीय वादनमा लिप्त गराउन सफल भएका छन् । (नियात्रा दैनिकी ‘आँखाभरि रमिता मनभरि वेदना’ बाट)

नियात्रा दैनिकी: अगष्ट १९, २००४