कोलोराडो निवासी आदरणीय स्रष्टा पदम विश्वकर्माको नवीनतम ’पाताल’ कृति २०८१ साल जेठ ६ गते गृह लोकार्पण तथा पुस्तक चर्चाको निम्तो पाउँदा कसरी जाने मनमा कुरा खेलेको थियो । ‘तँ चिता म पुर्याउँला’ भने झै भयो । त्यहाँ जाने सहयोग प्रकाश घतानेबाट भयो । उनले मलाई कार्यक्रममा लाने जिम्मा आफ्नो घर बस्ने स्याङ्जाली अर्जुन मिजार भाइलाई दिए । आउँदा दिपक सुनार भाइसँग आए । तीनैजनालाई धन्यवाद ।
सभ्य भव्य कार्यक्रम आदरणीय वरिष्ठ स्रष्टा हिरण्य भोजपुरेको प्रमुख आतिथ्यतामा कृति विमोचन भयो । साहित्यकार पुष्पराज पौडेल र डा. विजयराज शर्माले पुस्तकको परिचर्चा समीक्षा गर्नुभएकोे थियो । कार्यक्रम अनेसास कोलोराडो शाखाको आयोजनामा नेपाली सामुदायिक केन्द्र वेस्ट मिनिस्टरमा सम्पन्न भयो ।
यस कार्यक्रमको राम्रो पक्ष पुस्तक उपस्थितजना धेरैले किन्नुभयो । पुस्तक सकिएकोले मैले भने किन्न पाइन । पुस्तक किनेका प्रकाशलाई “तिमीले पढेपछि मलाई दिनु ल भने । “उनले “भैहाल्छ आन्टि भने । “साहित्यमा कनिकुथि रमाउने म छोरी ज्वाइँ साना नाति नातिनासँग बसेको नसोचेको कुरा भयो । एकहप्ता पछि “आन्टि किताब पहिला तपाईले नै पढ्नुस् ल म पछि पढुँला भनेर प्रकाश भाइले फोन गरे । मलाई ‘के खोज्छस् कानो आँखा’ भयो । पुस्तक हात पर्याे । खुशी हँुदै पुस्तक समयमा नै पढेर भ्याएँ । तर चाहेर पनि किताब बारे लेख्न सकिन । किनकि समयमा नै किताब फिर्ता दिने बाँचा थियो ।
समय सलल बगिरह्यो । साउन ३२ गते कोलोराडोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अर्थविद डा.स्वर्णिम वाग्लेको आगमनमा स्वतन्त्र पार्टिका कोलोराडो च्याप्टर अध्यक्ष दिपक सुनारसँग संयोगले कार्यक्रममा जानपाएँ । त्यहाँ स्रष्टा पदमजीको नाममा आएको ललिता ‘दोषी’ को लघुकथा सङ्ग्रह ’पहिरो’ प्रदान गर्ने अवसर पनि मिल्यो । यस अघि उहाँको पहिलो उपन्यास ‘क्वारेन्टाईन’ को विषयमा लेखेको हुनाले होला ‘पाताल’ कस्तो लाग्यो भनेर सोध्नु भयो । “दाजु अरूको किताब धेरै समय राख्न नमिलेकोले यसपटक लेख्न सकिन भने । म समीक्षक नभए पनि केही त लेख्नुपर्ने, लेखिन भनेर मनमा भने पक्कै कुरा खेलेको थियो ।
भोलिपल्ट भदौ १ गते वरिष्ठ आख्यानकार कृष्ण धराबासी भर्जिनियाबाट कोलोराडो आएको मौकामा कोलोराडो साहित्यिक समाजको आयोजनामा आख्यान गोष्ठी भयो । कार्यक्रमस्थल जान स्रष्टा पदम दाजुको सहयोग पाएँ । नचिताएको कुरा स्रष्टा दाजुले भेट हुनासाथ मलाई ’पाताल’ कृति दिनुभयो । छक्क पर्दै धन्यवाद भने । साथमा आफ्नो गुरु साहित्कार पुष्पराज पौडेल र कवि दामोदर लुँईटेललाई पनि कार्यक्रममा लिएर जानु भयो । सशुल्क आख्यान लेखन कार्यक्रम भयो । कार्यक्रम सुन्दर र मननयोग्य थियो । एकप्रकारको नौलो खालको पनि ।
राती श्रीमान् कामबाट आएपछि खुशी हुँदै “ल श्रीमान् तपाईले नि ‘पाताल’ पढ्न पाउने हुनुभयो भने । “अनि पुस्तकको पाना पल्टाए साहित्यकार गङ्गा ‘अभिलाषी’ मा सप्रेम लेखेको देख्दा खुशी लाग्यो । समीक्षक नभएपनि पुस्तक पढेपछि कस्तो लाग्यो मनका तरङ्गहरू कनिकुथि लेख्ने प्रयास गरेँ ।
लमजुङमा जन्मेका विश्वकर्माले नेपाली साहित्यमा स्नातक र समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । अनेसासको दुई वर्ष केन्द्रीय अध्यक्ष साथै कोलोराडो साहित्य समाजको अध्यक्ष कार्यभार सम्हाल्नु भयो । हाल बोर्डअफ ट्रष्टिका अध्यक्ष हुनुहुन्छ । समाजसेवी पदम विश्वकर्माले नेपालमा ’पदम विश्वकर्मा साहित्य प्रतिष्ठान’ गठन गर्नु भएको छ । नेपालका एकजना साहित्यकारलाई वर्षमा एकपटक नगद पुरस्कार प्रदान गर्नुका साथै कविता प्रतियोगिता गरेर विध्यार्थीहरूलाई पुरस्कृत गरेर प्रेरणा दिने गरेको छ । श्री विश्वकर्माले २०१८ मा अम्बेडकर पुरस्कार प्राप्त गर्नुका साथै प्रज्ञा साहित्य पुरस्कार साथै अन्य साहित्यिक सम्मानहरू प्राप्त गर्नुभएको छ । उहाँका हालसम्म चारवटा कृतिहरू प्रकाशित भएकाछन् । पहिलो कृति– ’शब्दसुमन’ कविता सङ्ग्रह, दोस्रो ’तमसुक’ कथा सङ्ग्रह, तेस्रो ’क्वारेन्टाईन’ उपन्यास र चौथो ’पातल’ उपन्यास हो । यसका अतिरिक्त केही गीतहरू पनि रेकर्ड भएकाछन् ।
‘पाताल’ उपन्यास २०८० चैतमा प्रकाशन भएको हो । प्रकाशक पेज टर्नर प्रा.लि बागबजार काठमाण्डौ । आवरण सज्जा निरुपण डेस्क । मूल्य रु. पाँचसय, युस डलर दस मात्र रहेको छ । कृति दुईसय पचपन्न पेजको छ । वरिष्ठ आख्यानकार मदन पुरस्कार विजयता कृष्ण धराबासीको समिक्षात्मक टिप्पणी रहेको छ । लेखकको भनाई अन्तिम पानामा छ । पछाडिको कबरमा ’पाताल’ को संक्षिप्त टिप्पणी छ । आवरण कला सुन्दर छ । ‘पाताल’ भित्र सन्ताउन्नवटा (५७) उप शिर्षकले ठाउँ पाएको छ । ’आरम्भ’ शिर्षकबाट सुरू भएको उपन्यास ’अन्तिम वार्तालाप’ शिर्षकमा समाप्त भएको छ ।
उपन्यासका मुख्य पात्र रुकुमेली कर्म लामा र करुण मगर हुन । अरु साहयक पात्रहरू प्रसस्त भेटिन्छन् । पढन थालेपछि छोडन मनै लाग्दैन । अब के हुन्छ भनेर मनमा कौतुहलता जगाइरहन्छ । वर्तमान समय विदेश जानू, पठाउनु प्रायः हरेक युवा, बा आमा र परिवारको रहर भएको छ । जसमध्ये अमेरिका नम्बर एकमा पर्छ भन्दा परक नपर्ला । माथिल्लो बाटो आएर जीवन निर्वाह गर्नेलाई त वाह ! अमेरिका भन्ने होला । तर तल्लो बाटो भएर आउनेलाई भने अमेरिका पक्कै सहज छैन । धेरै समस्या छ है भनेर जनाउने पुस्तक ’पाताल’ हो । तर जहाँ जसरी गए पनि आखिर भाग्यसँगै त हो जीवन भने झै मलाई यो कृति पढ्दा लाग्यो । दिनहु नेपाली जनशक्ति विदेश पलायन भईरहेकाछन् । देश खोक्रो भईरहेको छ । यसको चिन्ता लेखकमा छ ।
कृतिमा दस वर्षे जनयुद्धको तितो यथार्थ पाठक सामु उजागर भएको छ । जनयुद्धमा बाँच्न सफल पात्रलाई मुख्य भूमिकामा राखेर उपन्यास ‘पाताल’ लेखिएको छ । यश कृतिको मुख्य उदेश्य मान्छेहरू अमेरिका धनकमाउन भनेर तल्लो बाटो कसरी पुग्छन्, के कस्तो दुःख कष्ट झेल्नु पर्छ, त्यहाँ पुगेपछि पनि के कस्ता समस्याहरूसँग पैठेजोरि खेल्नु पर्छ जस्ता कारुणिक व्यथा, पाईलै पिछे पैसाकै खोलो बगाउँनु पर्ने । दलालले अनकन्टार ठाउँहरूमा बीच बीचमा पैसा माग्छ । दिन नसके बीचै बाटोबाट फर्कनु पर्ने डर, त्रास, धम्की र ज्यानको बाजि लगाएर हिड्न पर्ने । वर्षाै दिन लगाएर, लाखौ खर्च ऋृण गरेर पुगे पनि सपनाको संसार अमेरिका सोचे जस्तो चै पक्कै छैन है । लुकेर र कठिन काम गर्नु पर्छ । पुलिस देख्दा, पुलिसको गाडिको हर्न बज्दा डराउनु पर्छ । लुकेर बस्दाको पीडा कस्तो हुन्छ । मालिकलाई काममा चित्त नबुझे तुरून्त निकालिने त्रास । होमसिक हुने । वर्षाै परिवारसँग छुटिदाँको पीडा । भनेको समयमा कागज पत्र नबन्नु। कष्टको पनि कष्ट महाकष्ट सहनु पर्छ । आम मानिसले सोचे जस्तो अमेरिकामा पैसाकै बोट छैन रछ । यहाँ पनि धण्टौ काम गरेर हड्डि घोटेर एकछाक खाएर अरूलाई देखाउन मुटु माथि ढुङ्गा राखेर हाँस्नु पर्ने बाध्यता । जिन्दगी भन्नु “बर्मा जाउ कर्म सँगै नेपाल आऊ कपाल सँगै“ भने जस्तै रहेछ । पातालभित्र रुमलिदाँ मलाई यस्तै लाग्यो ।
यस कृतिको मुख्य सन्देश अबैध बाटो भएर अमेरिका छिर्ने नेपाली युवा जनशक्तिलाई सचेत गर्नु हो । मैले यो उपन्यास पढिरहदाँ अन्त्यमा कर्मलाई लेखक स्वदेश फर्काउन सफल हुनुुहुन्छ कि नाई होला भन्ने मनमा कौतुहलता जागेको थियो । फर्काउन सफल भएकोमा मलाई खुशी लाग्यो । अहिलेको समय भन्नु नै जसरी भएनि विदेश जाऊ धन कमाउ भएको छ । स्वदेश मै महिनाको लाखौ कमाउने छोरालाई पनि बाउ आमाले नै अबैध बाटो लाखौ खर्च गरेर अमेरिका पठाएको थाहापाए । अर्काे दुःखको कुरा हाम्रो देश चलाउने शासकहरू अत्यन्तै खराब भएभन्दा फरक नपर्ला । गाँउ पिछे दलालहरू उम्रिएकाछन् । बिदेश पठाउन विभिन्न प्रलोभनमा पार्दछन् । जसरी हुन्छ युवाशक्ति पलायन गराएकाछन् । गाउँ रित्तो भएको छ । ऋण दिने साहु महाजनहरू मिटर व्याजमा रमाएकाछन् । दलालहरूको बिगबिगि पनि एउटा मुख्यकारण भए जस्तो लाग्छ । अबैध बाटो भएर आउने मानिस कसरी अमेरिका आउँछन् । अनि कसरी लुकेर बस्न पर्छ । कति कष्ट सहनुपर्छ के कस्तो कामहरू गर्नु पर्छ भन्नेकुरा यो पुस्तक पढे पछि छर्लङ्ग हुन्छ । विस्मातको कारुणिक वेदनाले पाठकको हृदय टक्क छुन्छ ।
भाषा सरल, शिष्ट र बोधगम्य छ । आफ्नो भाषा, संस्कृति, जाति, राष्ट्रप्रेमले ओतप्रोत लेखकीय भावुकताले पाठकलाई आकर्षित गरेकोछ । तितो यथार्थप्रति पाठकलाई संवेदनशील बनाउने क्षमता बोकेकोछ भन्दा फरक नहोला । कृति मननयोग्य, मर्मस्पर्सि, संग्रहनीय पठनीय छ । बाँकि कुरा यस पुस्तकमा के छ भनेर थाहा पाउँन आखाँ रसाउँन, मनमुटु चस्स पोल्न, संबेदनशील हृदयविदारक कारुणिकताको पोको विशेष युवा वर्गले सचेत हुन यो पुस्तक पढ्न पर्ने हुन्छ । यस उपन्यासमा उपन्यासकार स्वयम् समाजसेवी, कर्मको सहयोगी पात्र भएर स्रोताको रुपमा उपस्थित हुनुभएकोछ । अबैध बाटो भएर आउनेहरूको यथार्थ घटनालाई टपक्क टिपेर उन्न सफल हुनुभएको छ । साथै अमेरिकामा बेलाबेलामा हुने गरेका गोलिकाण्डका यथार्थ घटनाहरू पनि उजागर भएकाछन् ।
साहित्य कलामा अनवरत कलम चलाई रहने आदरणीय स्रष्टा पदम विश्वकर्माको कलम निरन्तर चलिरहोस् हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अन्त्यमा चाहेर पनि किन्न नपाएको पुस्तक सप्रेम उपहार दिनु भएकोमा हार्दिक धन्यवाद, नमन ।