अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 13:06

पोखरा सडक महोत्सव शुरु

बिआरटीनेपाल २०८० पुष १२ गते ६:४९ मा प्रकाशित

रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेवान) पोखराकाे आयाेजनामा आज बिहीवारदेखि सडक महोत्सव शुरु भएको छ । खाना, संस्कृतिक कार्यक्रम र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै महोत्सव शुरु भएको हो । पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महाेत्सवकाे उद्घाटन गर्नुभयाे ।‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नारासहित २५ वर्षदेखि पोखराको लेकसाइडको झन्डै तीन किलोमिटर क्षेत्रमा सडक महोत्सव हुँदै आएको छ । महोत्सवमा सिन्धुलीको नौमती बाजा, थारु नाच, मयुर नाच लगायत विभिन्न प्रदेशका सांस्कृतिक कार्यक्रमकाे आयाेजना हुने महोत्सव संयोजक विश्वराज पौडेलले जानकारी दिनुभयाे ।

महोत्सवमा माैलिक भेषभुषाकाे प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, राष्ट्रिय भलिबल प्रतियोगिता, वाटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रदर्शनसहितका कार्यक्रम रहेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनुभयाे । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा यही पुस १६ गतेसम्म आयोजना हुने महोत्सवमा झन्डै पाँच लाखकाे सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने रेवान पोखराको दाबी छ ।

महाेत्सवका लागि लेकसाइड आकर्षक ढङ्गले सिँगारिएकाे छ । अफसिजनमा पोखराको पर्यटन प्रवर्द्धन गर्न गणेशबहादुर भट्टराईले नेतृत्वमा २५ वर्ष पहिले सडक महाेत्सवका शुरुवात भएकाे हाे ।यसैबीच २५ औँ सडक महाेत्सवकाे अवसर पारेर रेवान पाेखराले पोखराकाे विकासमा विभिन्न क्षेत्रबाट योगदान दिने २५ जनालाई खादा, माला र सम्मानपत्रले सम्मान गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू