अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

अर्थमन्त्री महत र आएएफसी उपाध्यक्षबीच भेटवार्ता, नेपालमा लगानी बढाउने विषयमा छलफल

बिआरटीनेपाल २०८० असोज २३ गते ६:५६ मा प्रकाशित

मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा। प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गर्नुभएको छ । उक्त भेटमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा छलफल भएको हो । भेटमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तीय उपकरणहरू (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना विकास गर्न आइएफसीले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ । अर्थमन्त्री डा। महतले नविनतम वित्तीय उपकरणहरू मार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पुँजी आकर्षित गर्न आइटी, कृषि–व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरू जस्ता क्षेत्रमा लगानी विविधीकरण गर्न नवीन वित्तीय उपकरणहरू परिचालन गर्नु पर्ने विषयमा जोड दिनुभयो ।

विदेशी विनिमय जोखिमको कारणले आइएफसी मार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्यूनीकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आएएफसिले आइडिएको सहुलियत विन्डो (निजी क्षेत्र विन्डो)  लाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्न साथै इक्वीटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

अर्थमन्त्रीले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण विषय समावेश हुने विश्वास व्यक्त गर्नुभयो । आइएफसीका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रवर्द्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको स्वागत गर्नुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्र मार्फत बाह्य पुँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानूनी आधार रहेको बताउँदै नेपाल राष्ट्र बैंकले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय