अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 12:34

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारे चीनसँग उच्चस्तरीय छलफल हुने मन्त्री किरातीको दाबी

बिआरटीनेपाल २०८० असोज ६ गते ५:४९ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताउनुभएको छ ।पोखरामा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको आजदेखि सुरु भएको चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित उडान गर्ने विषयमा छलफल हुने बताउनुभयो ।

मन्त्री किरातीले चीन र भूटानबाट पोखरा विमानस्थलमा भएको चार्टर उडानले व्यावसायिक सञ्चालनको सन्देश विश्वभर गएको बताउँदै पोखरामा नियमित उडान गर्न भारतसँग पनि छलफल भइरहेको बताउनु भयो । पोखरामा दुई वटा चार्टर विमान उडाएको उल्लेख गर्दै उहाँले यसबाट पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालनको सन्देश गएको स्पष्ट पार्नुभयो ।

उहाँले चीनका विभिन्न सहरबाट काठमाडौँ आउने जहाजलाई पोखरा डाइभर्ट गर्ने विषयमा छलफल भइरहेको बताउनु भयो । मन्त्री किरातीले पोखरा र भैरहवा विमानस्थललाई सार्वजनि निजी साझेदारीमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले आफ्नो सात महिनाको कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएको उल्लेख गर्नुभयो ।

वायुसेवा निगमका क्षेत्रमा जहाज खरिद गर्ने, पशुपतिमा निःशुल्क शवदाहको व्यवस्था र नागरिक उड्डयनका क्षेत्रमा नेपालको आकासलाई कालोसूचीबाट हटाउने अन्तिम कोशिस लगायतका मध्यमस्तरको परिणाम दिने काम भएको मन्त्री किरातीले उल्लेख गर्नुभयो । मन्त्रालयले नयाँ पर्यटन ऐनका लागि मस्यौदा समिति बनाएको र जनताबाट सुझाव माग गरिएको मन्त्री किरातीको भनाइ थियो ।

उहाँले संस्कृति ऐन निर्माणका लागि समिति गठन गरिएको र सो समितिको दिशानिर्देशअनुसार पहिलो पटक कानुन निर्माण गरिने जानकारी दिनुभयो । मन्त्री किरातीले दुर्गम क्षेत्रमा सेवा दिने गरी स्टल रुटको साना आकारका तीनबाट जहाज गरिद गर्न लागिएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू