अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२४ | Colorodo: 19:39

अगस्टमा ६७ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए

बिआरटीनेपाल २०८० भदौ १५ गते ७:३६ मा प्रकाशित

गएको अगस्ट महिनामा ६७ हजार एक सय ५३ जना विदेशी पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको अगस्ट महिनाको भन्दा झन्डै २६ हजार जनाले धेरै हो ।सन् २०२२ को अगस्ट महिनामा ४१ हजार तीन सय चार जना विदेशी पर्यटक नेपाल आएका थिए । यस्तै सन् २०२१ मा छ हजार ९३ जना र सन् २०२० मा दुई सय ६७ जना पर्यटक नेपाल आएका थिए । सन् २०२० र २१ मा कोरोना महामारीका कारण पर्यटन क्षेत्र पनि प्रभावित भएको हो । कोरोना महामारी शुरु हुनुअघि सन् २०१९ मा ७३ हजार आठ सय १४ जना पर्यटक नेपाल आएका थिए ।

सन् २०१९ को तुलनामा यो वर्ष झन्डै ९१ प्रतिशत पर्यटक आएका छन् । विश्वव्यापी आर्थिक मन्दी र रुस–युक्रेन युद्धका बीच पनि कोरोना महामारीले थलिएको पर्यटन व्यवसायको पुनरोत्थान अन्तिम चरणमा पुगेको नेपाल पर्यटक बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । गएको अगस्ट महिनामा नेपाल आएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट २६ हजार छ सय ६५ जना रहेका छन् । यस्तै चीनबाट पाँच हजार २७ जना र अमेरिकाबाट चार हजार छ सय २९ जना आएका छन् ।

सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । बाेर्डका अनुसार याे वर्षको जनवरीदेखि अगस्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० जना पर्यटक भित्रिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू